पाकिस्तानमा बीस सैनिकको मृत्यु

  • 19 जनवरी 2014
विष्फोट स्थल तस्वीर कपीराइट AP
Image caption तालिबानले सेनामाथि थप हमला गर्ने चेतावनी दिएको छ।

पाकिस्तानका प्रहरीले देशको उत्तरपश्चिममा एउटा सैनिक सवारी जत्थामाथि गरिएको बम हमलामा कम्तीमा बीसजना सैनिकहरुको ज्यान गएको बताएका छन्।

तीसजनाभन्दा बढी अन्य घाइते भएका थिए।

हिंसा प्रभावित उत्तरी वजिरिस्तान जनजातीय इलाका नजीकै एउटा सुरक्षा परिसरबाट सुरक्षाकर्मीहरु चढेका गाडीहरु हिडने तयारी गरिरहँदा सो विष्फोटन भएको थियो।

पाकिस्तानी तालिबानले उक्त हमलाको जिम्मा लिएको छ।

विष्फोट

सैनिक तथा अर्द्धसैनिक बलका सदस्यहरु खैबर पख्तुनख्वा प्रान्तको बन्नु नगरमा रहेको अखाडाबाट उत्तरी वजिरिस्तानको रजमाकतर्फ जाने तयारी गरिरहँदा उक्त शक्तिशाली विष्फोट भएको थियो।

विष्फोटमा परी कम्तीमा बीस जना सैनिकहरुको ज्यान गएको छ भने अरु कैयौं घाइते भएका छन्। हताहतिको संख्या अरु बढ्न सक्ने अनुमान गरिएको छ।

एएफपि समाचार संस्थासंग कुरा गर्दै एकजना सुरक्षा अधिकारीले सवारी जत्थाको एउटा गाडीमा उक्त विष्फोट भएको बताए।

उनले भने, “सो हमला कुनै आत्मघाती बम हमलाकारीले गराएको हो वा बम त्यहीं जडान गरिएको थियो भन्ने स्पष्ट भैसकेको छैन।”

रोयटर्स समाचार संस्थासंग कुरा गर्दै एकजना सैनिक सूत्रले भने, ती सैनिकहरु भाडाका गैरसैनिक गाडीहरुमा यात्रा गरिरहेका थिए।

जिम्मा

एउटा अज्ञात स्थानबाट रोयटर्ससंगै कुरा गर्दै तालिबान लडाकुहरुका एकजना प्रवक्ता शाहिउद्दीन शाहदिले भने, इश्वरको मदतले यो हमलाको हामी जिम्मा लिन्छौं।

उनले भने, “सेना हाम्रो दुश्मन हो। यो इलाकामा हामी फेरि अरु कैयौं हमलाहरु गर्नेछौं।”

पाकिस्तानमा नवाज शरीफ नयाँ प्रधानमन्त्री बनेपछि उनले पाकिस्तानी तालिबानसंग शान्तिवार्ता शुरु गर्ने बताएका थिए। उनले तालिबानसंग वार्ता गर्न एउटा तीन सदस्यीय वार्ता टोली पनि गठन गरेका थिए।

तर गत वर्ष एउटा चालकरहित अमेरिकी विमानबाट गरिएको हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुद मारिएपछि प्रस्तावित वार्ता भङ्ग भएको थियो।

पाकिस्तानका गृह मन्त्री चौधरी निसार अलि खानले उक्त हमलालाई वार्ता भाँडने एउटा प्रयास भनेका थिए।

यसअघि अर्का तालिबान कमाण्डर वलिउर रहमान पनि ड्रोन हमलामा मारिएका थिए।

गत वर्षको अन्त्य तिर एकजना नयाँ नेताको चयन गरेपछि पाकिस्तानी तालिबानले सरकार विरुद्धका हमलाहरु तीव्र पार्ने चेतावनी दिएको थियो।