सिरियाली विपक्ष शान्तिवार्ताका लागि सहमत

  • 19 जनवरी 2014
सिरियाली विद्रोही तस्वीर कपीराइट n
Image caption जिनीभामा हुने शान्ति वार्ता सहभागीता जनाउन भएको मतदानले विपक्षलाई विभाजीत गरेको छ

टर्कीको इस्तानबुलमा बैठक बसेको सिरियाली विपक्षी गठबन्धनले बुधबार स्वीट्जरल्याण्डको जिनीभामा हुने शान्ति वार्तामा सहभागीता जनाउने निर्णय गरेको छ।

विगत तीन बर्षदेखि सिरियाको सरकारलाई हटाउन विद्रोहीहरुले लडाईं गरिरहेका समयमा त्यहांको सरकारसंग वार्ता गर्न गम्भीर आपत्तिका आवाजहरु उठिरहेका छन्।

त्यस्तो विरोध कायमै रहंदा, बैठकमा सहभागी ७३ जना सदस्य मध्ये ५८ जनाले वार्तामा सहभागी हुनु पर्छ भन्ने पक्षमा आफ्नो मत दिएका थिए।

शान्ति सम्मेलनमा सहभागी हुने या नहुने भन्ने विषयले उक्त गठबन्धनमा विभाजन ल्याइदिएको थियो।

अनिच्छा

गठबन्धनका धेरैजसो सदस्य प्रस्तावित अन्तरिम सिरियाली सरकारबाट राष्ट्रपति बशर अल असदलाई बाहिर नराखिएसम्म वार्तामा सहभागी हुन अनिच्छुक रहंदै आएका थिए।

सिरियाली विपक्षका प्रवक्ता, लुए साफी ले पत्रकारहरुसंग कुरा गर्दै वार्तामा सहभागी हुने पक्षमा बहुमत हासिल भएको बताउंदै भने, "हामीले अन्तत: एउटा निर्णय गरेका छौं।

"जिनीभामा हुने वार्तामा सहभागीता जनाउने पक्षमा हामीले अत्यधिक बहुमत हासिल गरेका छौं।

"र हामीलाई स्थलमा संघर्ष गरिरहेका प्रमुख लडाकू शक्तिहरुको पनि समर्थन प्राप्त छ।“

बेरुतबाट यो समग्र प्रकृयालाई नियाली रहेका बीबीसी सम्बाददाता जीम म्युर भन्छन्, सिरियाको विपक्षीहरुको साधारणसभाले जिनीभा दोस्रो भनिएको वार्तामा सहभागीता जनाउन गरेको निर्णयले उक्त गठबन्धनलाई समर्थन गर्ने पश्चिमा शक्तिहरुलाई सहज अनुभव गराउने छ।

सन्देश

तर यो निर्णयले, वार्ता प्रकृयाका प्रवर्धकहरुले आशा गरे अनुरुप ऐक्यबद्धता र साझा भावनाको सन्देश भने दिएको छैन।

शान्ति वार्तामा सहभागी हुनु पर्छ भन्ने पक्षमा बहुमत ५८ वटा मत परेको भएपनि, यो साधारणसभामा छलफल गर्न गठबन्धनका १२० जना सदस्य मध्ये ७३ जना मात्र सहभागी थिए।

तर उक्त गठबन्धनका अध्यक्ष अहमद जार्बाले यो तानाशाहको शासनबाट स्वतन्त्रता तर्फको बाटोमा उल्लेखनीय कदम भनेका छन्।

यसैकारणले पनि जिनीभामा वार्ता हुंदा विपक्षीहरुको वार्ता टोली कत्तिको प्रतिनिधिमूलक हुन्छ भन्ने प्रश्नहरु निश्चय नै खडा हुनेछन्।

जिनीभा वार्तामा सहभागी हुन विपक्षी गठबन्धनमाथि पश्चिमा शक्तिहरुको चरम दबाब परेको थियो, तर त्यस्तो दबाब सिरियामा असद सरकारलाई हटाउने उद्देश्य प्राप्तीका लागि राजनीतिक बाटो हासिल हुने आशामा लिइएको एउटा ठूलो राजनीतिक जोखिम हुनसक्छ।