नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न भट्टराईको माग

  • 19 जनवरी 2014
Image caption एकीकृत माओवादीको केन्द्रीय समितिको अध्यक्ष प्रचण्डको जीवनशैली र कार्यशैलीको आलोचना भएको छ।

एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व र जिम्मेवारी दोस्रो तहका नेताहरुलाई हस्तान्तरण गर्नुपर्ने माग गरेका छन्।

दोस्रो संविधानसभा चुनावमा बेहोरेको पराजयको समिक्षा गर्न बसिरहेको केन्द्रीय समितिको बैठकमा शनिबार बोल्दै भट्टराईले यस्तो धारणा राखेका हुन्।

पार्टीको संगठनात्मक संरचना फेरबदल गर्नुपर्ने प्रस्ताव सहित प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल भैरहेको छ।

पूर्व प्रधानमन्त्री भट्टराईले पार्टीको चुनावी हारमा अध्यक्षले सबैभन्दा बढी र अरुले पदीय हैसियत अनुसार जिम्मेवारी लिनुपर्ने धारणा केन्द्रीय समितिमा राखेका थिए।

नेतृत्व

अध्यक्ष प्रचण्ड एक्लै मात्र नभई आफू सहितका अहिलेको पार्टीको नेतृत्वले सामुहिक रुपमा पद त्याग गरी नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बिषय भट्टराईले उठाएको उनी निकट नेता देवेन्द्र पौडेलले बताए।

उनले भने, “अहिलेको नेतृत्व पुस्ताले सामुहिक रुपमा नै दोस्रो पुस्तालाई जिम्वेवारी दिएर विश्वास गर्दै अघि बढ्न सक्नुपर्छ र राजनीतिक र वैचारीक नेतृत्व पुराना पुस्ताले गर्नुपर्छ भन्ने धारणा उहाँले राख्नुभएको हो।”

दश बर्षे सशस्त्र द्वन्द्व र त्यसपछिको शान्ति प्रकृयामा मओवादीको तर्फबाट नेतृत्वदायी भूमिका खेलेका प्रचण्ड लगातार दुई दशक भन्दा बढी समयदेखी पार्टीको सर्वोच्च पदमा छन्।

केही समयअघिबाट पार्टी भित्र आन्तरिक लोकतन्त्र हुनुपर्ने आवाज उठाउँदै आएका भट्टराईले एउटै व्यक्तिले बर्षौसम्म पार्टीको नेतृत्व गर्ने परम्परा अन्त्य गरिनुपर्ने धारणा पनि राखेको नेता पौडेलले उल्लेख गरे।

एकिकृत माओवादी सैद्धान्तिक रुपमा आफ्नो नीति अनुसार अघि बढिरहेको भट्टराईले बताउने गरेका छन्।

उनले समय समयमा सार्वजनिक रुपमै प्रचण्डको चर्को आलोचना र प्रशंसा दुवै गर्ने गरेका छन्।

तर निर्वाचनको अनपेक्षित परिणामपछि स्वयं अध्यक्ष प्रचण्ड पक्षका भनिएका कतिपय नेताले समेत उनले अब नेतृत्व हस्तानतरण गर्नुपर्ने समय भएको धारणा राखेका छन्।