सरकार गठनको बाटो खुल्यो

  • 20 जनवरी 2014
Image caption मन्त्रिपरिषदबाट सिफारीस भएपछि आइतबार राष्ट्रपति यादवले संसदको अधिवेशन माघ १२ गते बोलाएका छन्

राष्ट्रपतिबाट आइतबार भएको व्यवस्थापिका संसदको अधिवेशन आह्वानले सरकार निर्माण प्रक्रियाको बाटो खुलेको छ।

संविधानसभा निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि संसद अधिवेशन आह्वान नहुँदा सरकार गठन प्रक्रिया शुरु हुन सकेको थिएन।

राष्ट्रपति रामवरण यादवले मन्त्रीपरिषदको सिफारिशमा माघ १२ गते अपरान्ह ३ बजे संसदको अधिवेशन आह्वान गरेका छन्।

आव्हान

व्यवस्थापिका संसदको बैठक शुरु भएपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया शुरु हुनेछ।

सहमतिको सरकार गठन भए पनि त्यसलाई अनुमोदन गर्नका लागि व्यवस्थापिका संसदको बैठकको आवश्यकता पर्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए।

उनले भने, “सहमतिको सरकार गठनको लागि आव्हान गरेको अवधिभित्र संसदको बैठक अनिवार्य थियो। व्यवस्थापिका संसदको बैठक आव्हान भइसकेकोले गर्दा सरकार गठनको बाटो खुल्यो।”

सहमतिको सरकार गठन हुन नसके निर्वाचनमार्फत प्रधानमन्त्री चयनका प्रक्रिया व्यवस्थापिका संसदले शुरु गर्नुपर्ने हुन्छ।

गठन

अन्तरिम संविधानको धारा ३८ (१) मा राजैतिक सहमतिका आधारमा मन्त्रिपरिषदको गठन गर्नु पर्ने उल्लेख छ।

यस्तो हुन नसकेमा सोही धाराको उपधारा (२) अनुसार तत्काल कायम रहेको संसदको संम्पुर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रि निर्वाचित हुने व्यवस्था छ।

प्रवक्ता शर्माले भने, “संसदले समय निर्धारण गरेर सुचना निकालेर सहमतिको सरकारको प्रक्रिया पहिला अगाडि बढ्छ। सहमति अनुसार सरकार गठन हुन नसकेमा बहुमतीय प्रक्रिया अगाडि बढ्छ।”

संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता देखाउँदै आएको छ।

सो पार्टीले शनिबार संसदीय दलका नेता चयनका लागि निर्वाचन समिति गठन गर्दै नेता छनौटसँगै सरकार निर्माणका लागि दलीय छलफललाई तीव्रता दिने निर्णय गरेको थियो।