विवादास्पद डिन नियुक्ति खारेज गर: रेग्मी

  • 21 जनवरी 2014
Image caption आइतबारदेखि देशभरका सरकारी अस्पतालहरु ठप्प हुँदा विरामीले सास्ती खेपिरहेका छन्

प्राध्यापक डाक्टर गोविन्द केसीको आमरण अनसन ११ औं दिन पुगेपछि, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उनको मुख्य मागलाई सम्बोधन गर्ने गरी, नवनियुक्त डाक्टर शशि शर्माको नियुक्ति निर्णय कार्यान्वयन नगर्न, त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्।

लगत्तै शिक्षण अस्पताल पुगेर अध्यक्ष रेग्मीले अनसन तोड्न आग्रह गरे पनि डाक्टर केसीले आफ्ना मागहरुमा प्रतिबद्ध भएको भन्दै माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन्।

निर्देशन

शिक्षण अस्पतालमा राजनीतिक र प्रशासनिक हस्तक्षेप हुन नहुने भन्दै डाक्टर केसीको अनसन जारी रहँदा मन्त्रिपरिषद् अध्यक्षदेखि शिक्षण अस्पतालकै दर्जनौं वरिष्ठ डाक्टर र चिकित्सक संघको समेत ध्यानाकर्षण भइसकेको छ।

तर डाक्टर शशि शर्माले भने राजीनामा दिएका छैनन्।

बरु अस्पतालका कार्यकारी निर्देशक डाक्टर भगवान कोइरालाले छुट्टै पत्र लेखेर र अन्य सय भन्दा बढी वरिष्ठ डाक्टरहरुले सामुहिक राजिनामा दिइसकेका छन्।

डाक्टर केसीको अनसन भविष्यमा देखिने ठूलो उपलब्धिका लागि भन्दै, सर्वोच्चको आदेशको सम्मान गरेर बिरामीलाई बहिरंगको सट्टा सबै उपचारको सुविधा आकस्मिक कक्षबाटै दिइने चिकित्सक संघले बताएको छ।

अडान

चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झाले भने, "एउटा राम्रो व्यवस्थाका लागि हाम्रो आन्दोलन जारी राखिएको हो, व्यक्तिमा गएर सधैँ राजीनामा माग गर्ने राम्रो होइन।"

डिन शशि शर्माले राजीनामा नगर्दासम्म अनसन नतोड्ने अडान लिएका डाक्टर केसीको स्वास्थ्य स्थिति भने थप गम्भीर हुँदै गइरहेको छ।

आइतबारदेखि देशभरका सरकारी अस्पताल ठप्प हुँदा हजारौं विरामीहरुले सहज रुपमा उपचारको सेवा पाउन सकेका छैनन्।