भट्टराई पक्ष 'नेतृत्व परिवर्तन'मा अडिग

  • 21 जनवरी 2014
तस्वीर कपीराइट BBC Jitendra Raut
Image caption वरिष्ठ नेता बाबुराम भट्टराईले आन्तरिक लोकतन्त्रको माग गर्दै नेतृत्व परिवर्तनको मुद्दा उठाएका हुन्

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिले नेतृत्व हस्तारणबारे निर्णय नलिए उक्त मुद्दालाई जारी राख्ने रणनीति लिएको छ।

भट्टराई पक्षले नेतृत्वबारे अहिले टुङ्गो नलागे सांगठनिक अधिवेशनमा सो एजेण्डालाई लैजाने जनाएको छ।

तर अध्यक्ष प्रचण्ड पक्षधर नेताहरु जारी केन्द्रीय समितिको बैठकले पार्टीको अहिलेकै नेतृत्व पुस्तालाई निरन्तरता दिने बताउछन्।

विवाद

वरिष्ठ नेता भट्टराई पक्षले पार्टी नेतृत्व अब युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग उठाउँदै आए पनि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उक्त माग सार्वजनिक रुपमा नै अस्विकार गरेका छन्।

पार्टी अहिले अप्ठयारो अवस्थामा रहेकोले आफूले नेतृत्व नछाड्ने प्रचण्डको भनाई छ।

तर भट्टराई पक्षका मानिने एक नेता टोपबहादुर रायमाझीले नेतृत्व हस्तान्तरणको बिषय निरन्तर उठाइरहने बताए।

उनले भने, “पार्टी भित्रको अन्तरविरोध, अन्तरसंघर्ष भनेको पार्टीको जीवन हो, त्यस्तो अन्तरसंघर्ष निरन्तर रहिरहन्छ।

त्यसै कारण हामी नेतृत्व हस्तान्तरणको बिषय निरन्तर उठाउँछौं।”

भट्टराई पक्षले दोस्रो संविधानसभामा पार्टीको हारको नैतिक जिम्मेवारी अध्यक्ष प्रचण्डले नै लिनुपर्ने बताएको छ।

सो पक्षले पार्टीभित्र सांगठनिक सुधार तथा रुपान्तरणको मुद्दालाई जारी केन्द्रीय समिति बैठकमा उठाएको छ।

तर जारी केन्द्रीय समितिले गर्ने निर्णय आफूहरुलाई मान्य हुने नेता रायमाझीले बताए।

केन्द्रीय समितिले टुंग्याउन नसकेका कतिपय विषयहरु सांगठनिक अधिवेशनमा लिएर जाने उनले उल्लेख गरे।

बचाउ

तर प्रचण्ड पक्षधर नेता लोकेन्द्र विष्टले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने अहिले सहि समय नभएको बताए।

उनले भने, “नेतृत्व भनेको शिशिरमा झर्ने र वसन्तमा पलाउने रुखको पात जस्तो होईन्, संकट परेको बेला नेतृत्वले छाडेर भाग्न मिल्दैन्।

उहाँहरु अभिभावक हो र उहाँहरुले नेतृत्व गर्नैपर्छ।”

केन्द्रीय समितिको बैठकले प्रचण्ड सहित पूर्व उपाध्यक्षद्वय भट्टराई र नरायणकाजी श्रेष्ठ र पूर्व महासचिव पोष्टबहादुर बोगटीलाई नेतृत्वमा निरन्तरता दिने उनले बताए।

असहज परिस्थितिमा नेतृत्व नछाड्ने अध्यक्ष प्रचण्डको सार्वजनिक अभिव्यक्तिले भट्टराई पक्षका नेतालाई त्यस्तो मागबाट पछि हट्न सन्देश दिएको देखिन्छ।

यद्यपि केन्द्रीय समितिमा प्रचण्डको बहुमत रहेकोले एकीकृत नेकपा माओवादीमा तत्काल नेतृत्व परिवर्तन हुने छनक देखिदैन्।