‘सिरियाबारेको सम्मेलनमा इरानलाई नबोलाइने’

  • 21 जनवरी 2014
सम्मेलन कक्ष तस्वीर कपीराइट AFP
Image caption पछिल्लो निर्णयपछि सिरियाली गठबन्धनले स्वीट्जरल्याण्डमा हुने सम्मेलनमा सहभागिता जनाउने बताएको छ

संयुक्त राष्ट्रसंघका महासचिव बान-की मुनका प्रवक्ताले बानलाई व्यक्तिगत रुपमा दिलाइएको विश्वास विपरित इरानले सिरियामा संक्रमणकालीन सरकार गठन गर्ने मुद्दा प्रति सार्वजनिक बिमती राखेपछि यस्तो निर्णय लिइएको बताए।

सम्मेलनको एक मुख्य मुद्दा सिरियामा संक्रमणकालीन सरकार गठन गर्नेबारे समर्थन गर्न असफल भएको भन्दै राष्ट्रसंघका प्रवक्ता मार्टीन नेसिर्कीले तेहेरानको आलोचना गरेका छन्।

सिरियाको सरकारको मुख्य साझेदार रहेको इरानलाई सम्मेलनमा सहभागी गराउनने निर्णयले अमेरिका र पश्चिमा देशहरुको समर्थन प्राप्त सिरियाको मुख्य विपक्षि गठबन्धनलाई आक्रोशित बनाएको थियो।

शान्ति सम्मेलनमा सहभागी हुने निम्तो इरानले स्वीकार गरेको भएपनि सिरियाको मुख्य विपक्षी गठबन्धनले इरानले संक्रमणकालीन सरकार गठन गर्ने मुद्दाप्रति सार्वजनिक रुपमा समर्थन नगरेसम्म छलफलमा नबस्ने अडान लिएको थियो।

तर राष्ट्रसंघको पछिल्लो निर्णय पछि सो गठबन्धनले स्वीट्जरल्याण्डमा हुने सम्मेलनमा अब सहभागिता जनाउने बताएको छ।

निम्तो फिर्ता

विपक्षि गठबन्धन न्यासनल कोएलीसनका नेता मोन्जर अक्बीकले इरानलाई दिइएको निम्तो फिर्ता गर्ने निर्णय सहि भएको बताए।

अमेरिकाले इरानलाई सम्मेलनमा सहभागी नगराउने निर्णयको स्वागत गरेको छ।

राष्ट्रपति बसर अलअसदको सरकारलाई समर्थन गरिरहेको इरानले सम्मेलनमा सहभागी हुन कुनै पनि शर्त नमान्ने बताएको थियो।

बुधवार स्वीट्जरल्याण्डको मोङट्रो शहरमा सुरु हुने सम्मेलनलाई ३ बर्ष यता जारि सिरियाको द्वन्द्व समाधान गर्ने सबैभन्दा ठूलो कुटनीतिक पहलका रुपमा लिइएको छ।

सिरियाको द्वन्द्वमा भएको लडाँइमा करिव १ लाखले ज्यान गुमाएका छन् र दशौं लाख विस्थापित भएका छन्।

'युद्ध अपराध'

अर्कोतिर युद्ध अपराधबारेका तीन पूर्व अभियोजनकर्ताहरुले तयार पारेको एक प्रतिवेदनले सिरियामा राष्ट्रपति बसर अलअसाद विरुद्ध विद्रोह चर्किन थालेपछि करिब ११ हजार बन्दीहरुलाई यातना दिएर मारिएका स्पष्ट प्रमाणहरु फेला परेको बताएको छ।

अनुसन्धानकर्ताहरुले सिरियाबाहिर पुर्‍याइएका हजारौं मृत बन्दीहरुका तस्वीरहरुको अध्ययन गरेका थिए।

उनीहरुका अनुसार अधिकांस शवहरु बिग्रिएका र थुप्रैलाई कुटिएको वा घांटी थिचिएका थिए।