दोश्रो संविधानसभाको बैठक शुरु

  • 22 जनवरी 2014

संविधानसभा चुनावमा भाग लिँदै मतदाता तस्वीर कपीराइट BBC Nepali
Image caption दोश्रो संविधानसभाबाट एक वर्षभित्रै संविधान जारी गर्ने मुख्य दलहरुको प्रतिवद्धता छ

अघिल्लो संविधानसभाले नसकेको नयाँ संविधान लेख्ने लक्ष्य लिएको दोश्रो संविधानसभाको बैठक सुरु भएको छ।

यससँगै संविधानसभा व्यवस्थापिका-संसदले गैर-राजनीतिक व्यक्तिहरुको हातमा पुगेको शासकीय बागडोर फेरी राजनीतिक दलहरुको काँधमा फर्काउने छ।

तर शक्ति बाँडफाँड लगायतका विषयमा प्रमुख दलहरुबीच देखा परेका मतभेदहरुले वर्ष दिनमै संविधान जारी गर्ने उनीहरुको प्रतिवद्धतालाई शंकामुक्त रहन दिएका छैनन्।

फिक्का

थुप्रै उत्सुकता, रौनक र तीव्र राजनीतिक विकाशक्रमका माझ भएको पहिलो संविधानसभाको पहिलो बैठकको तुलनामा दोश्रो संविधानसभाको पहिलो बैठक फिक्का देखिन्थ्यो।

त्यसैले कतिपयका भनाईमा केही 'प्रकृयागत-कर्मकाण्ड' पुरा गर्दै पहिलो बैठक माघ १५ गते फेरी बस्ने गरी सकियो।

दोश्रो संविधानसभाको सुरुवातलाई धेरैले राजनीतिक राहतका रुपमा हेरेका छन्।

तर यससँगै राष्ट्रिय राजनीतिको चुनौतिपूर्ण यात्रा पनि सुरु भएको ठानिएको छ।

शुरुमा संविधानसभाको माग गर्ने तर अहिलेको सभालाई निरर्थक ठान्ने एउटा विद्रोही पक्ष बानेश्वरस्थित संविधानसभा भवनको हाता बाहिरै परेको छ।

संविधानसभाभित्रका दलहरुबीच पनि तमाम मतभेद ज्युँदै छन्।

आशा

त्यसैले सबैभन्दा जेठा सदस्यको हैसियतले संविधानसभाको पहिलो बैठकको अध्यक्षता गरेका लामो राजनीतिक अनुभवका धनी सूर्यबहादुर थापाले पनि आफ्नो सम्वोधनका क्रममा इतिहासको एउटा पुरानो सन्दर्भ कोट्याउँदै चुनौतिको चित्र प्रस्तुत गरे।

उनको भनाई थियो, "२००८ देखि २०१४ सालसम्मको राजनीतिक घट्ना स्मरण गर्न यस अवस्थामा सामयिक देखिन गएको छ, इतिहास आफै दोहरिन्छ भन्ने कुरा नेपालमा चरितार्थ भएको र हुने सम्भावना पनि देखिन्छ, आशा राखौं त्यस्तो नहोस्।"

त्यस अवधिमा राजनीतिक संक्रमण लम्बिँदा तत्कालीन राजाले संविधानसभाबाट संविधान लेख्ने संवैधानिक प्रावधान संसोधन गरी संसदको चुनाव गराएको सन्दर्भ उल्लेख गर्दै उनले उक्त कुरा बताएका हुन्।

उनले जस्तै यो संविधानसभा संविधान जारी गर्दै अन्तिम बनोस भन्ने धेरैले आशा गरेको देखिन्छ।

वाचा

प्रमुख दलहरुले वर्षदिनमै संविधान लेख्ने वाचा गरेका छन्।

धेरै नयाँ अनुहारले प्रवेश पाएको दोश्रो संविधानसभामा त्यो उत्साह र उमंग देखिने अपेक्षा पनि कतिपयको छ।

तर चुनाव हुँदा ताका नेता र दलहरुप्रति आकाशिएको भरोसाको ग्राफ त्यसपछि उनीहरुबीच देखिएको हानथापले ह्वात्तै तल झारिदिएको पाइन्छ।

सभामुख र उपसभामुखको चयन र सरकार गठन जस्ता महत्वपूर्ण विषयमा राजनीतिक भागबण्डा हुन बाँकी नै छ।

ती विषयको छिनोफानो कसरी हुन्छ भन्ने कुराले नै संविधान लेखनमा दलहरुबीच रहेका मतभेदको दूरी बढाउने वा घटाउने भन्ने कुरा निर्भर गर्ने कतिपयको ठम्याइ पाइन्छ।