शिक्षण अस्पतालका डिन शर्मा हटाइए

  • 22 जनवरी 2014
Image caption चिकित्सकहरुको आन्दोलनले गर्दा बिरामीहरु उपचारबाट वञ्चित हुनु परेको गुनासा आईरहेका छन्

चिकित्सकहरुको आन्दोलनको केन्द्रविन्दुमा रहेका चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा शशि शर्मालाई त्रिभुवन विश्वविद्यालयले उनको पदबाट हटाउने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको बैठकले शर्मालाई हटाउने निर्णय गरे पनि अनशनरत डा गोविन्द केसीले आफ्ना सबै मागहरु पुरा नभएको भन्दै अनशन जारी राख्ने बताएका छन्।

हस्तक्षेप

कुलपतिको हैसियतमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मंगलबार निर्देशन दिएपछि बुधबार बसेको त्रिभुवन विश्वविद्यालयको पदाधिकारी बैठकले सो निर्णय गरी मन्त्रिपरिषद् अध्यक्षलाई जानकारी गराएको हो।

शर्माको नियुक्ति तथा शिक्षण अस्पतालमा राजनीतिक तथा प्रशासनिक हस्तक्षेपको विरोध गर्दै १२ दिनदेखि प्राध्यापक डा केसी आमरण अनशनमा रहेका छन्।

केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलरत चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले पनि आन्दोलन जारी राख्ने जनाएको छ।

ठप्प

चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरुका सेवा आंशिक रुपमा ठप्प छन्।

बीबीसीसँग कुरा गर्दै डा केसीले सरकार, राजनीतिक दल तथा त्रिभुवन विश्वविद्यालयमा कार्यरत दलका केही 'सेवक'हरुका कारण अहिलेको अवस्था सृजना भएको बताए।

यद्यपि उनले आफ्नो कारणले बिरामीहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरे।

आफ्नो अनशनको बचाउ गर्दै डा केसीले थिति बसाउनका लागि तोडफोडको आन्दोलन गर्नुभन्दा शान्तिपूर्ण आन्दोलन गर्नु उपयुक्त भएको उल्लेख गरे।

उनले भने, ''मेरो आन्दोलन कुनै व्यक्तिविरुद्ध होईन, बेथितिविरुद्ध हो।''

केसीले बिना कुनै नीति हचुवाको भरमा पैसा र शक्तिको आधारमा अहिले मेडिकल कलेजहरुलाई सम्बन्धन दिने गरिएको दावी गरे।

उनले भौतिक लगायत पूर्वाधार तयार भईसकेपछि भविष्यमा मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सकिने पनि बताए।