सिरियाबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु

  • 22 जनवरी 2014
खाली सम्मेलन कक्ष तस्वीर कपीराइट AFP
Image caption सम्मेलन एकअर्काप्रति आरोप, प्रत्यारोपबाट शुरु भएको थियो

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरियाली संकटको समाधान खोज्न एउटा रचनात्मक कुराकानीमा संलग्न हुन सबै पक्षलाई आह्वान गरेका छन्।

स्विट्जर्ल्याण्डमा बुधबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई संबोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन्।

चालिसवटा मुलुकका विदेश मन्त्रीहरुले भाग लिइरहेको उक्त संमेलनमा बोल्दै अमेरिकी विदेश मन्त्री जोन केरीले भने, "सिरियाका राष्ट्रपति असदले आफ्नो सबै विश्वसनीयता गुमाइ सकेका छन् र उनले पद त्याग्नै पर्छ।"

तर सिरियाका विदेश मन्त्री वालिद मुआलेमले सिरियालीहरुले मात्रै आफ्नो नेता छान्न सक्ने बताए।

आलोचना

आफ्नो लामो मन्तव्यमा सिरियाका उपप्रधानमन्त्री तथा विदेश मन्त्री वालिद मुआलेमले, उनकै शब्दमा, आफ्नो मुलुकमा आतंकवादलाई बढावा दिइरहेका मुलुकहरुको कडा आलोचना गरे।

उनले भने, "हो, यो मेरो लागि र सिरियाका जनताकालागि एकदमै खेदजनक छ। त्यो के भने सिरियाली जनताको रगत हातमा लागेका मुलुकहरुका प्रतिनिधिहरु अहिले मसँगसँगै यो कक्षमा बसीरहेका छन्। आतंकवाद निर्यात गर्ने मुलुकहरुको अहिले मकुण्डो उत्रिएको छ।"

विदेश मन्त्री मुआलेमले पेट्रोलमा धनी मध्यपूर्वका मुलुकहरुले हतियार खरीद गरेर तथा भाडाका लडाकु पठाएर सिरियामा आतङ्क फैलाइरहेको आरोप पनि लगाएका थिए।

उनले विदेशी मुलुकहरुमाथि सिरियाभित्र हजारौं आतंककारीहरु पठाएको आरोप पनि लगाए।

सिरियाका विपक्षी नेता अहमद जार्बाले भने, उनीहरु सिरियामा अल्पसंख्यकहरुको सरकारलाई स्वीकार्न सक्दैनन र एउटा समावेशी सरकार चाहन्छन्।

स्थानीय स्तरमा युद्ध विराम तथा द्वन्द् ग्रस्त क्षेत्रहरुमा सहायता कसरी पुराउने आदि विषयहरुमा शुक्रबार देखि औपचारिक वार्ता शुरु हुनेछन्।

निम्तो

यसै साताको शुरुमा संयुक्त राष्ट् संघले सम्मेलनमा भाग लिन इरानलाई पठाएको निम्तो फिर्ता लिएको थियो।

इरानले सिरियामा एउटा संक्रमणकालिन सरकार गठन गर्ने यसअघिको प्रस्तावप्रति मौखिक समर्थन जनाएको तर त्यसप्रति लिखित प्रतिबद्धता जनाउन इन्कार गरेकाले उसलाई सम्मेलनमा सहभागी गराउन नसकिने राष्ट्र संघले बताएको थियो।

यसअघि सिरिया सरकारले देशको सबैभन्दा ठूलो शहर अलेप्पोमा युद्धविराम गर्ने तथा बन्दी साटासाट गर्ने प्रस्ताव मस्कोमा सार्वजनिक गरेको थियो।

स्वीटजर्ल्याण्डमा शान्ति सम्मेलन अघि विभिन्न मुलुकहरुबीच उच्च स्तरमा भैरहेका कूटनीतिक संवाद पछि त्यस्तो प्रस्ताव गरिएको थियो।

सिरियाको गृहयुद्ध सन् २०११ मा शुरु भएको थियो।

संयुक्त राष्ट्र संघले सिरियाली द्वन्द्वमा एकलाख भन्दा बढी मानिसहरुको ज्यान गैसकेको अनुमान गरेको छ।