'सिरियाली सरकार हटाउनुपर्ने थप कारण'

  • 22 जनवरी 2014
सिरियामा यातनाको तस्वीर तस्वीर कपीराइट
Image caption अन्तर्राष्ट्रिय वकिलहरुले सिरियामा सरकारी पक्षबाट भएका उलंघनका तस्वीरहरु सार्वजनिक गरेका थिए

संयुक्त राज्य अमेरिकाले, सिरियाली सरकारले बन्दीहरुलाई यातना दिएको र मारेको दृश्यहरुका हजारौं तस्वीरहरु सार्वजनिक भएपछि त्यसबाट त्यहांको असद सरकारलाई सत्ताच्यूत पार्नु पर्ने अवश्यकता झन टडकारो भएको बताएको छ। अन्तर्राष्ट्रिय अभियोजनकर्ताहरुले तयार पारेका प्रतिवेदनमा समाविष्ट त्यस्ता तस्वीरहरुले व्यापक र नियोजीत तरिकाले मानव अधिकार उलंघन गर्नेहरुलाई त्यसका लागि कानुनी रुपमा जिम्मेवार ठहर्याइनु पर्ने अमेरिकी विदेश मन्त्रालयका एकजना प्रवक्ताले बताएकी छिन्।

विचलित

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मेरी हार्फले ति तस्वीहरुलाई एकदमै विचलित तुल्याउने खालको भनेकी छिन्।

तस्वीरहरुमा "सिरियाली सरकारले जनतालाई स्वतन्त्रता र आत्मसम्मानबाट विमुख गर्न मात्र नभई उल्लेख्य भावनात्मक र शारिरिक पिडा पुर्याउन गरेको ब्यापक र नियोजीत दुर्व्यवहारहरुको" प्रमाण लुकेको छ, उनको भनाई थियो।

सिरियाली सरकार युद्ध अपराधका लागि दोषी भएको भन्ने अमेरिकी धारणालाई दोहोर्याउंदै उनले भनिन् ति तस्वीरहरुले सिरियामा राजनीतिक परिवर्तनको महत्वलाई झनै चर्को रुपमा प्रस्तुत गरेका छन्।

तस्वीरहरु, एकजना सरकारी फोटोग्राफरले खिचेका बताइएको छ जो पछि राष्ट्रपति बशर अल असदको सरकारबाट विद्रोह गरी विपक्षी खेमामा आएका थिए।

सिरियाली विपक्षका एकजना सदस्यले राष्ट्रपति असदलाई ति तस्वीरहरुको आधारमा अन्तर्राष्ट्रिय फौजदारी न्यायालयमा मुद्दा चलाइनु पर्ने माग गरेका छन्। अन्तराष्ट्रिय वकिलहरुले तयार पारेका एउटा प्रतिवेदनमा संलग्न ति तस्वीरहरुले झण्डै ११ हजार बन्दीहरुलाई यातना दिइएको र मारिएको विवरणहरु देखाएका छन्।

भिन्नता ब्रिटिश विदेशमन्त्री विलियम हेगले भनेका छन् उक्त प्रतिवेदनले असद सरकार र विपक्षीहरुबीचको भिन्नतालाई उजागर गरेको छ। तर उनले यसबाट त्यहां राजनीतिक समाधानको प्रयास रोकिन नहुनेमा जोड दिएका छन्। उनले भने,“तस्वीरहरुबाट भयंकर र स्तब्धकारी प्रमाण प्राप्त भएको छ। मैले केहि तस्वीरहरु हेरेको पनि छु। "तर मेरो विचारमा सिरियाली सरकारी पक्षसंग वार्तामा सहभागी हुनु र राजनीतिक समाधानको खोजी गर्नु उचित कदम हो। र एकदिन ति क्रुर अपराधका लागि जीम्मेवारहरुलाई कानूनसमक्ष उपस्थित गराउनु जरुरी छ।“

सिरियाली सरकार र विपक्षीहरुबीच शान्ति वार्ताको निम्ति बाटो खोल्ने ठानिएको सम्मेलनको पूर्व सन्ध्यामा बोल्दै सिरियाली सरकारका एकजना प्रवक्ताले, अन्तर्राष्ट्रिय वकिलहरुको उक्त प्रतिवदेनलाई एउटा राजनीतिक दस्तावेज भन्दै त्यो राष्ट्रपति असदमाथि दबाब बढाउने उद्देश्यले तयार पारिएको बताएका छन्।

अपराधी

उनले वास्तविक अपराधीहरु सिरियामा विद्रोही लडाकुहरुलाई प्रायोजन गरिरहेकाहरु नै हुन् भनेका छन्।

यसैबीच सिरियाको द्वन्द्व समाधान गर्ने उद्देश्यले हुन लागेको सम्मेलन बुधबार स्वीट्जरल्याण्डमा आरम्भ हुंदैछ।

वार्ताका लागि सिरियाली सरकार र विपक्षीहरुले आआफ्ना प्रतिनिधि त्यस तर्फ पठाइसकेका छन्।

तीन बर्षअघि द्वन्द्व शुरु भएयता दुवै पक्षले आमनेसामने उपस्थित भएर वार्ता गरेको यो पहिलो पटक हुनेछ।