'माग पुरा नभएसम्म अनशन निरन्तर''

  • 23 जनवरी 2014
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तस्वीर कपीराइट bbc jitendra
Image caption शिक्षण अस्पतालका एकसय भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक र प्रशासनिक हस्तक्षेप भएको भनेर आमरण अनशन बसिरहेका डाक्टर गोविन्द केसीले आफ्ना बाँकी मागहरु पुरा नभएसम्म अनशन नत्याग्ने बताएका छन्।

बुधवार त्रिभुवन विश्वविद्यालयले सरकारको निर्देशन अनुसार हालै नियुक्त चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डाक्टर शशी शर्मालाई पदबाट हटाउने निर्णय गरेको थियो।

नयां डिन नियुक्ति वरिष्ठताका आधारमा गरिनुपर्ने लगायतका माग पुरा भएपछि मात्र डाक्टर केसीले अनशन तोड्ने उनका एक सहयोगीले बताए।

माग

डाक्टर गोविन्द केसीले अनशन सुरु गर्दा राखेका ७ बुंदे माग मध्य डिन नियुक्तिको खारेजी र मेडिकल कलेज सम्बन्धन प्रक्रिया तत्काल अघि नबढाउने निर्णय सरकारले गरिसकेको छ।

तर उनले १३ दिन देखि जारी अनशन तत्काल नतोड्ने जनाएका छन्।

दवावका कारण राजिनामा दिन बाध्य भएको बताएका यसअघिका डिन डा प्रकाश सायमीको पुनर्बहाली या वरिष्ठताका आधारमा नयाँ डिन नियुक्त गरिनुपर्ने अडान डाक्टर केसीको रहेको उनका सहयोगी अर्थोपेडिक्स विभागका आवसीय डाक्टर सुवर्ण अधिकारीले बताए।

“अहिलेको अवस्थामा उहांका मागहरु पुरा भएकै छैनन्, शुरुको डिनको नियुक्ति रद्द गरेर पुरानै डिन वा उहांले नमाने वरिष्ठमध्येका प्राध्यापकलाई नयां डिन नियुक्त गरिनुपर्छ भन्ने उहाँको माग हो।”

उनका अनुसार बुधबार भएको छलफलमा डाक्टर केसीले वरिष्ठताका आधारमा शिक्षण अस्पतालको डिन नियुक्त गरिनुपर्ने धारणा राखेका थिए।

सम्बन्धन

उनले चिकित्साशास्त्र अध्ययन संस्थानलाई त्रिभुवन विश्वविद्यालयको माताहतमा राख्नुको साट्टो छुट्टै चिकित्साशास्त्र विश्वविद्यालय गठन गर्न गृहकार्य अघि बढाइनुपर्ने पनि माग पनि राखेका छन्।

यसअघि तत्काल मेडिकल कलेजलाई सम्बन्धन नदिने सरकारी निर्णय थप प्रष्ट पारिनुपर्ने अडान पनि डाक्टर केसीको रहेको उनका सहयोगी डाक्टर अधिकारीले बताए।

“अर्को नयां व्यक्तिले तत्काल सम्बन्धन नदिने भन्ने पदावलीलाई टेकेर नयाँ सम्बन्धन दिन्छन् कि भन्ने उहाँको चिन्ता हो त्यहि भएर त्यो बुँदा प्रष्ट लेख्नुपर्ने उहाँको धारणा छ।”

यसअघि अघिल्ला डिन डाक्टर सायमीले नयां मेडिकल कलेजहरुलाई सम्बन्धन दिन आएको दवावका कारण आफूले राजीनामा दिनु परेको सार्वजनिक रुपमा नै बताएका थिए।

निरन्तरको अनशनका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रंदै गएको बताइएको छ।

उनको अनशनप्रति ऐक्यबद्घता जनाइरहेको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले पनि आन्दोलन जारी राख्ने जनाएको छ।