सिरियामा चुनाव गराउन इरानको सुझाव

  • 23 जनवरी 2014
राष्ट्रपति रुहानी तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति रुहानीले सिरियामा ताजा चुनाव गराउनु पर्ने बताउँदै आएका छन्

इरानका राष्ट्रपति हसन रुहानीले भनेका छन्, सिरियाली सँकट समाधान गर्ने सबैभन्दा उत्तम उपाय भनेको त्यहाँ स्वतन्त्र तथा निष्पक्ष आम चुनाव गराउनु हो।

स्वीटजर्ल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक मन्चमा सहभागी हुन गएका राष्ट्रपति रुहानीले भने, बाहिरी शक्तिहरुको प्रभाव विना सिरियाली जनताले मात्रै आफ्नो भविष्यको निर्णय गर्नुपर्दछ।

डाभोसतर्फ प्रस्थान गर्नुअघि बोल्दै रुहानीले सिरियाका बारे भैरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन संयुक्त राष्ट्र संघले उनको मुलुकलाई बोलाएर पछि निम्ता फिर्ता गरेकाले जेनेभा दोश्रो नाम दिइएका ती वार्ताहरु असफल हुने बताएका थिए।

प्रस्ताव

राष्ट्र संघले चाहिँ इरानले सिरियामा एउटा संक्रमणकालिन सरकार गठन गर्ने प्रस्तावलाई खुल्ला समर्थन नगरेकाले इरानलाई दिइएको निम्तो फिर्ता लिइएको जनाएको थियो।

हाम्रा तेहरान संवाददाता जेम्स रेनोल्ड्स भन्छन्, इरान सिरियाको सबैभन्दा शक्तिशाली सैनिक तथा राजनीतिक सहयोगीहरुमध्ये एक हो।

उनी भन्छन्, तर उनका यी भनाइ नयाँ भने होइनन्। गत वर्ष पनि उनले सिरियामा ताजा चुनाव गराउन आह्वान गरेका थिए।

त्यसो त अरु महत्वपूर्ण कुरा के हो भने इरानको सिरिया नीति राष्ट्रपति रुहानीले बनाउँदैनन्।

धेरै विश्लेषकहरु इरानको शक्तिशाली रिभोल्युशनरी गार्डस अन्तर्गतको कुद्स फोर्सका कमाण्डर जनरल कासेम सोलेमानी नै सिरिया मामिलामा इरानका वास्तविक नीति निर्माता भएको ठान्दछन्।

जनरल सोलेमानीले राष्ट्रपतिलाई न भै इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमैनीलाई सिधै जाहेरी गर्दछन्।

वार्ता

उता, डाभोसबाट झण्डै तीन सय किलोमिटर टाढा रहेको स्वीटजर्ल्याण्डकै मन्त्रो शहरमा भैरहेको शान्ति सम्मेलनमा सिरियाका लागि अन्तर्राष्ट्रिय दूत लखदर ब्राहिमीले प्रतिद्वन्द्वी सिरियाली प्रतिनिधिमण्डलहरुसंग छुट्टाछुट्टै वार्ता गर्ने तयारी गरिरहेका छन्।

ब्राहिमीले भने, शुक्रबार औपचारिक वार्ताहरु शुरु भएपछि दुबै पक्ष एउटै कोठामा बस्न तयार होलान् वा नहोलान् भन्नेबारे उनलाई अँझै केही थाहा छैन।

तर उनले भने, सिरिया सरकार तथा विद्रोहीहरु दुबै स्थानीय स्तरमा युद्धविराम गर्न तथा मानवीय सहायता सामग्री लैजान दिन सकारात्मक देखिएका छन्।

आह्वान

बुधबार सम्मेलनको उद्घाटन सत्रलाई संबोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरियाली संकटको समाधान खोज्न एउटा रचनात्मक कुराकानीमा संलग्न हुन सबै पक्षलाई आह्वान गरेका थिए।

चालिसवटा मुलुकका विदेश मन्त्रीहरुले भाग लिइरहेको उक्त संमेलनमा बोल्दै अमेरिकी विदेश मन्त्री जोन केरीले भने, सिरियाका राष्ट्रपति असदले आफ्नो सबै विश्वसनीयता गुमाइ सकेका छन् र उनले पद त्याग्नै पर्छ।

तर आफ्नो लामो मन्तव्यमा सिरियाका उपप्रधानमन्त्री तथा विदेश मन्त्री वालिद मुआलेमले भने, सिरियालीहरुले मात्रै आफ्नो नेता छान्न सक्ने बताएका थिए।

उनले पेट्रोलमा धनी मध्यपूर्वका मुलुकहरुले हतियार खरीद गरेर तथा भाडाका लडाकु पठाएर सिरियामा आतङ्क फैलाइरहेको आरोप पनि लगाएका थिए।