'सिरियाका दुवै पक्षसंग छुट्टा छुट्टै परामर्श'

  • 23 जनवरी 2014
सिरियाली राष्ट्रपतिका समर्थकहरु तस्वीर कपीराइट Reuters
Image caption स्वीट्जरल्याण्डको वार्तास्थल बाहिर सिरियाली राष्ट्रपतिका समर्थकहरु पनि भेला भएका थिए

सिरियाको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले स्वीट्जरल्याण्डमा सम्मेलन शुरु भएपछि, विहीबार शान्ति वार्ताका लागि राष्ट्रसंघीय मध्यस्थकर्ता लख्दर ब्राहिमीले दुई प्रतिद्वन्द्वी प्रतिनिधि मण्डलसंग बेग्ला बेग्लै परामर्श गर्दैछन्।

त्यस्तो कुराकानीको उद्देश्य, ति दुवैपक्ष कुन हदसम्म मिलेर जान तयार छन् र भोली जिनीभामा फेरि आरम्भ हुने औपचारिक वार्तामा कुन कुन विषय उठाउनु पर्छ भन्ने पत्ता लगाउनु रहेको छ।

सिरियाली शान्ति प्रकृयाले केहि धरमराउंदै अगाडीको बाटो समातेको छ। पहिलो दिनको वार्तामा दुवै पक्षले चर्को मतभेद प्रस्तुत गरेका भएतापनि ति प्रतिद्वन्द्वी प्रतिनिधिमण्डल वार्ता छाडेरै भने हिंडेका छैनन्।

अनिश्चितता

दुवै पक्षले शुक्रबार संयुक्त राष्ट्र संघको तत्वावधानमा पुन: शुरु हुने वार्तामा सहभागी हुन आउने बताएका छन्।

यो समग्र वार्ता प्रकृया कसरी अगाडी बढ्दा भन्ने अझै निश्चित छैन।

राष्ट्र संघका मध्यस्थकर्ता लख्दर ब्राहिमीले खुलासा गरे अनुसार सिरियाका दुई परस्पर विरोधी समुहहरु कुराकानी गर्न एउटै कोठामा बस्न समेत तयार छन् की छैनन् भन्ने नै उनलाई थाहा छैन।

तर उनले पहिले सिरियामा जारी रक्तपातपूर्ण युद्ध कसरी रोक्ने भन्ने बारेमा वार्तालाई अघि बढाउने प्रयास गरिने बताए।

त्यसका लागि सन् २०१२ को जुन ३० तारिखमा जारी बक्तव्यलाई मार्गचित्रका रुपमा लिन सकिने उनको धारणा छ।

यो समग्र प्रकृया कुनै पनि हिसाबले सजिलो नहुने भन्दै उनले शान्तिका लागि सकेसम्मको प्रयास गरिने बताए।

गम्भीर वार्ता

संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले, सिरियाको गृहयुद्धका दुवै पक्षलाई सम्बोधन गर्दै अब द्वन्द्व अन्त्यका लागि गभ्मीर भएर वार्ता गर्ने बेला भएको बताएका थिए।

स्वीट्जरल्याण्डमा पहिलो दिनको वार्तापछि बोल्दै महासचिव बानले भने - सिरियालीहरुले तिनका देशलाई बचाउन र बालबालिकाको रक्षा गर्न एकजुट हुन जरुरी छ।

“हाम्रो अगाडीको बाटो अप्ठ्यारो छ तर त्यस्लाई पार गर्न सकिन्छ, पार गर्नै पर्छ।

"एकिकृत सिरियाको निम्ति रक्तपात अन्त्य गर्न र शान्तिपूर्ण तथा प्रजातान्त्रीक भविष्यको खोजी गर्न अझै ढिलो भैसकेको छैन, ” महासचिव बानको भनाइ थियो।

अब वार्तालाई अघि बढाउन दुवै पक्षबीच तत्काल सहमति हुन नसक्ने ठूला राजनीतिक प्रश्नलाई शुरुमा नउठाउने उपया अपनाउन सकिने आशा व्यक्त गरिंदैछ।

त्यसको सट्टा स्थानीय स्तरमा युद्धविराम गर्ने र राहत सहायता बोकेका बाहनलाई पहुंच दिने जस्ता विषयमा ठोस कदम चाल्न सकिने बताइएको छ।

तर दुवै पक्षबीच विश्वासको अभाव रहेको हालको अवस्था त्यस्ता सुझावहरु पनि अहसमतिका साथ असफल हुन सक्छन्।