डा. केसीको अनशन तोडियो, उपचार जारी

  • 24 जनवरी 2014
तस्वीर कपीराइट bbc jitendra
Image caption डिन नियुक्तिका लागि अझै केही दिन लाग्ने त्रिवि रजिष्ट्रार चन्द्रमणि पौडेलले बताएका छन्

१४ दिनमा अनशन तोडेका डाक्टर गोविन्द केसीले फेरि अनशन बस्नु पर्ने स्थिति नआउने प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले बताएका छन्।

डाक्टर केसीको माग पुरा गर्ने प्रतिबद्धता जनाएर अनशन तोडाएका सचिव बाँस्कोटाले भने, "डाक्टर केसीले फेरि स्वास्थ्य क्षेत्रको माग उठाएर अनशन बस्ने परिस्थिति आउला जस्तो मलाई लाग्दैन।"

त्रिवि शिक्षण अस्पतालमा राजनीतिक र प्रशासनिक हस्तक्षेप बन्द हुनुपर्ने माग राख्दै अनशनमा बसेका प्राध्यापक डाक्टर केसीले शुक्रबार बिहान अनशन तोडेपछि उनको उपचार सघन उपचार कक्षमा भइरहेको छ।

शिक्षण अस्पतालमा डिन नियुक्ति लगायतका विषयमा विरोध जनाउँदै करीब दुई साता अघि अनशन सुरु गरेपछि डाक्टर गोविन्द केसीले आफ्नो कठोर निर्णयबारे भनेका थिए, "अन्तत: सत्यको जित हुन्छ भन्नेमा मलाई विश्वास छ।"

समर्थन

उनले उठाएका मागहरुका विषयमा शिक्षण अस्पतालकै वरिष्ठ डाक्टरहरु, चिकित्सक संघलगायतका सबै सरोकारवाला निकायहरुले समर्थन गरे।

अनशन बसेको १३ औं दिन सरकारी टोलीले स्वयं शिक्षण अस्पताल पुगी उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि उनले अनशन तोडेका थिए।

डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे उपचारमा खटिएका डाक्टर सन्तोष क्षेत्रीले भने, "अवस्था गम्भीर नै छ, छिट्टै सुधार भइहाल्ने अपेक्षा हामीले गरेका छैनौं।"

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले विवादित भनिएका डिन डाक्टर शशि शर्मालाई बर्खास्त गर्न त्रिवि पदाधिकारीलाई निर्देशन दिएर डाक्टर केसीलाई अनसन तोड्न आग्रह गरे पनि उनले आफ्ना मागहरु पुरा नभएको भन्दै मानेका थिएनन्।

त्यसपछि सरकारले डाक्टर केसीको माग सम्बोधन गर्न सचिवस्तरीय वार्ता टोलि गठन गरेको थियो।

प्रतिबद्धता

अनशन बसेको १३ औं दिन सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा मध्यरात अस्पतालै पुगेर डाक्टर केसीका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।

शुक्रबार बिहान त्यही बेहोराको पत्र सचिव बाँस्कोटाले शिक्षण अस्पतालमा धेरै मानिसहरुको बीच पढेर सुनाए पछि डाक्टर केसीले अनसन तोडेका थिए।

अनसन तोडेपछि डाक्टर केसीले स्वास्थ्य क्षेत्रको विकृति हटाउन आफ्नो आन्दोलन जारी रहेको बताएका थिए।

डाक्टर केसीको भनाई उद्धृत गर्दै उनको उपचारमा १३ दिनदेखि खटिएका डाक्टर राजेन्द्र वाग्लेले भने, "मेरो आन्दोलन जारी छ। स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार बढे म फेरि अनशनमा बस्छु भन्नुभयो।"

डाक्टर केसीकै आन्दोलनलाई समर्थन गरेर देशभरका सरकारी अस्पताल ठप्प गरेको नेपाल चिकित्सक संघले आफ्ना मागहरु पुरा भएको भन्दै आन्दोलन फिर्ता गरेपछि शुक्रबारदेखि नै देशभरका अस्पतालहरु सञ्चालनमा आएका छन्।