कायरोमा कार बम हमला

  • 24 जनवरी 2014

इजिप्टको राजधानी कायरोमा गराइएका श्रृखलावद्ध बम हमलाहरुमा परी कम्तीमा ६ जनाको ज्यान गएको छ भने झण्डै एक सय जना घाइते भएका छन्।

Image caption विष्फोटले गर्दा नजीकै रहेको इस्लामिक संग्रहालय नराम्रोसंग क्षतिग्रस्त भएको छ

प्रहरी मु्ख्यालय बाहिर गराइएको एक शक्तिशाली कार बम हमलामा कम्तीमा चार जनाको ज्यान गएको थियो।

विष्फोट लगत्तै बन्दूक चलेको आवाज पनि सुनिएको थियो।

स्थानीय समय अनुसार बिहानै साढे ६ बजेतिर उक्त हमला गरिएको थियो।

क्षति

घटनास्थल पुगेका हाम्रा संवाददाता भन्छन्, बमले जमीनमा ठूलो खाल्डो पारेको छ र नजीकै रहेको उन्डाइसौं शताब्दीमा बनेको इस्लामिक कला संग्रहालयको भवन नराम्रोसंग क्षतिग्रस्त भएको छ।

एसोसियटेड प्रेस समाचारसंस्थाका एकजना फोटोग्राफरले सो विष्फोटन पछि झण्डै छ जना प्रहरीहरु बाटोमै बसेर रोइरहेको आफुले देखेको बताए।

विष्फोट लगत्तै तीस भन्दा बढी एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए।

इजिप्टका गृहमन्त्री मोहम्मद इब्राहिमले भने, “द्ईजना यात्रु रहेको एउटा पिक अप ट्रक प्रहरी मुख्यालय बाहिरको सुरक्षा चौकीमा रोकियो र त्यसपछि आत्मघाती बम हमलाकारीले उक्त विष्फोट गरायो।“

केही समयपछि कायरोकै दुई फरक स्थानहरुमा पनि विष्फोट भएका थिए।

डोक्की जिल्लाको एउटा मेट्रो स्टेशनमा भएको विष्फोटमा धेरै हताहतिहरु भएका थिए।

विष्फोटन

नजीकै रहेको प्रहरीको एउटा गाडीप्रति उक्त विष्फोटन लक्षित भएको बताइएको छ।

इजिप्टमा लामो समयसम्म शासन गरेका भूतपूर्व राष्ट्पति होस्नी मुबारकलाई एउटा जनविद्रोहद्वारा सत्ताच्युत गरिएको तीन बर्ष पुग्नै लाग्दा यी हमलाहरु गरिएका हुन्।

अल कायदासंग संबद्ध एउटा उग्रवादी संगठन अन्सर बेत अल मकदिसले सो हमला आफुले गराएको दावी गरेको छ।

उक्त संगठनले गत डिसेम्बर महिनामा कम्तीमा सोह्र जनाको ज्यान जाने गरी उत्तरी शहर मन्सुरामा गराइएको विष्लोटको पनि जिम्मा लिएको थियो।

मुस्लिम ब्रदरहुडले शुक्रबार गराइएका हमलाहरुको निन्दा गरेको छ।

गत जुलाई महिनामा इस्लामवादी राष्ट्पति मोहम्मद मोर्सीलाई सत्ताच्युत गरिएपछि भएका हिंसामा इजिप्टमा सैयौंको ज्यान गएको थियो।

त्यसपछि सरकारले उनको मुस्लिम ब्रदरहुड संगठनमाथि प्रतिबन्ध लगाइदिएको थियो।

तर उक्त संगठन र उसका साझेदारहरुले शुक्रबारका प्रार्थनाहरुपछि देशव्यापी प्रदर्शन गरेका छन्।

विरोध

उनीहरुले हालै जारी गरिएको धर्मनिरपेक्ष संविधानको विरोध गरिरहेका छन्।

उक्त विष्फोट अघि बीबीसीसंग कुरा गर्दै अन्तरिम प्रधानमन्त्री हाजेम बेबलावीले आउँदो ६ महिनाभित्रै राष्ट्पति तथा संसदको चुनाव हुने बताएका थिए।

उनले भने, नयाँ संविधानलाई स्वीकार गर्ने र बल प्रयोगमा विश्वास गर्ने मुस्लिम ब्रदरहुडका समर्थकहरुले पनि चुनावमा भाग लिन पाउनेछन्।

तर उनले भने, अब राजनीति र धर्मलाई मिसाउन पाइने छैन र धर्मनिरपेक्षता तथा प्रजातन्त्रका सिद्धान्तहरुलाई स्वीकार गर्नुपर्नेछ।