संसदीय दलको नेतामा उठ्ने देउवाको तयारी

  • 24 जनवरी 2014
तस्वीर कपीराइट nc
Image caption नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न आइतवार चुनाव गर्ने निर्णय गरेको छ

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमतिको लागि ठोस प्रस्ताव प्रस्तुत नगरेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलको नेताको पदमा उम्मेदवारी दिन लागेको उनी निकट एक नेताले बताएका छन्।

कांग्रेसले चुनावमार्फत आगामी आइतवार संसदीय दलको नेता छान्ने तयारी अघि बढाइरहंदा देउवापक्षको यस्तो भनाइ आएको हो।

चुनावअघि नै सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच सहमति जुटाउने प्रयास पनि भइरहेको छ।

माग

सभापति कोइराला संसदीय दलको नेता र प्रधानमन्त्री पदको उम्मेदवार बन्ने भए पार्टी चलाउने जिम्मेवारी आफ‍ूलाई दिनुपर्ने वरिष्ठ नेता शेर बहादुर देउवाको माग रहेको छ।

तर त्यसबारे कुनै ठोस प्रस्ताव सभापति कोइरालाले नल्याएकोले देउवाले उम्मेदवारी दिने तयारी गरेको उनी निकट नेता गोपालमान श्रेष्ठले बताए।

“शेरबहादुरजीले आफूले अहिलेसम्म मुख खोल्नुभएको छैन्, साथीहरुसँग सल्लाह गरेर बताउंछु भन्नुभएको छ तर सभापतिले कुनै प्रस्ताव नल्याउने हो भने उहाँले चुनाव लड्ने घोषणा गर्नुहुन्छ।”

कांग्रेस उपसभापति पौडेलले सार्वजनिक रुपमा नै संसदीय दलको नेतामा आफूलाई निरन्तरता दिन माग गरिसकेका छन्।

सभापति कोइरालालाई एक व्यक्ति एक पद अनुसार शक्ति बाँडफाँडको प्रस्ताव ल्याउन देउवा र पौडेल दुवैले दबाब दिइरहेका छन्।

संसदीय दलको नेता चुनावबाट चयन गर्ने दिन नजिकिदैँ गर्दा तीनै पक्षले दलका सभासदहरुसँगको छलफललाई तीव्रता दिएका छन्।

बिहीबार सभापति कोइराला र उपसभापति पौडेलले आअफ‍्नो निवासमा सभासदहरुसँग छलफल गरेका थिए।

दुवै छलफलमा सहभागी सभासद अर्जुनप्रसाद जोशीले तीनै नेताबीच सहमति हुनुपर्नेमा जोड दिए।

“हामी तीनै नेताबीचको सहमतिमा संसदीय दलको नेता चुनियोस भन्ने चाहान्छौ, त्यो भएन भने कम्तीमा पार्टी सभापति र उपसभापति त एकैतिर रहनुपर्छ।”

मतदान

कांग्रेसले दलको नेता छान्न केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ।

बिहीबार सो समितिले चुनावमा मतदान गर्ने १ सय ९४ सभासदको सूचि प्रकाशन गरेको थियो।

उम्मेदवारी मनोनयन दर्ता गराउने र फिर्ता लिने कार्यतालिका शनिवारका लागि तय गरिएको छ।

शीर्ष नेताबीच सहमतिको प्रयास भइरहको भन्दै सो समितिका संयोजक दिलेन्द्र बडुले सर्वसम्मत या चुनावी प्रकृयाबाट दलको नेता चुनिने बताए।

नेपाली कांग्रेसको संसदीय दलमा देउवा पक्षभन्दा पार्टीको संस्थापनपक्ष केही बलियो रहेको बताइन्छ।

संसदीय दलको नेताकै दौडमा रहेका उपसभापति पौडेलसँग सहमति कायम गर्ने कोसिस दुवै पक्षले गरिरहेका छन्।

आइतवार हुने संसदको पहिलो बैठक अघि नै संसदीय दलको नेता छान्ने तयारी कांग्रेसको छ।