‘देउवालाई कार्यवाहक दिन मिल्दैन’

  • 25 जनवरी 2014
Image caption नेतात्रय दलको नेता चुनिने दौडमा छन्

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई पार्टीको कार्यवाहक सभापति दिनुपर्ने माग सार्वजनिक गरेपछि सभापति सुशील कोइराला निकट मानिने एकजना नेताले कांग्रेसको विधान र परम्परा अनुसार त्यसो गर्न नसकिने बताएका छन्।

संसदीय दलको नेता चयनका लागि पार्टीभित्र शक्तिबांड हुनुपर्ने अडान देउवा पक्षले राखिरहँदा पार्टीको संस्थापन पक्षका ती नेताले त्यस्तो माग अस्वीकार गरेका हुन।

गाह्रो

संसदीय दलको नेता बन्ने दौडमा कांग्रेस सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेलसँगै रहेका देउवाले आफूलाई पार्टीको कार्यवाहक सभापति बनाइए संसदीय दलको नेतामा बन्ने दावी छाड्ने शुक्रबार बताएका थिए।

तर पार्टीको विधान र परम्परा अनुसार त्यसो गर्न नमिल्ने कोइराला निकट नेता आनन्दप्रसाद ढुङ्गानाले जिकिर गरे।

उनले भने, “विधान अनुसार उपसभापतिलाई मात्रै कार्यवाहक दिन सकिन्छ, विधान मिचेर काम गर्न गाह्रो हुन्छ।”

“बीपी कोइराला २०१६ सालमा प्रधानमन्त्री हुँदा पार्टी सभापति नै हुनुहुन्थ्यो, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि सभापति नै हुनुहुन्थ्यो, परम्परा हेर्दा कसैलाई कार्यवाहक दिनुपर्छ भन्ने छैन।”

निकास

एक व्यक्ति एक पदको नारा पार्टी सभापतिले नै ल्याएको भन्दै देउवा पक्षले शीर्ष नेताहरुबीच सहमति भए विधानले आन्तरिक पद बाँडफाँडलाई वाधा नपुर्याउने बताउने गरेको छ।

तर पार्टीको संस्थापन पक्ष भने विधान संशोधनका लागि तयार देखिएको छैन्।

सभापति कोइराला र देउवा आफूहरुसँगै संसदीय दलको नेताको दौडमा रहेका उपसभापति पौडेलसंग गठबन्धन बनाउने कोसिस पनि गरिरहेका छन्।

संसदीय दलको नेताका लागि शनिवार उम्मेदवारी दर्ता गराउने र आइतबार चुनाव हुने कार्यसूची रहेकाले नेताहरु आ-आफ्नो पक्षमा समर्थन जुटाउन व्यस्त छन्।