‌सिरियाको विपक्षी, सरकारबीच पहिलो पटक भेट

  • 25 जनवरी 2014
तस्वीर कपीराइट Reuters
Image caption सिरियाका दुवै पक्षले वार्तामा राष्ट्रसंघीय मध्यस्थकर्ता लख्दर ब्रहिमीमार्फत मात्र बोल्ने जनाएका छन्

सिरियाको विपक्षी र सरकारले पहिलो पटक छोटो समयका लागि भेट गरेका छन्।

‘सिरिया जोगाउन’ भनी आयोजना गरिएको शान्तिवार्ताको एक हिस्सा स्वरूप उक्त भेटघाट भएको हो।

सो भेटघाट आधा घन्टाकालागि मात्र भएको र त्यस क्रममा राष्ट्रसंघीय मध्यस्थकर्ता लख्दर ब्रहिमीमात्र बोलेका बताइएको छ।

विपक्षीले होम शहरमा युद्धविरामको माग गर्ने जनाएको छ।

दुवै पक्षका प्रतिनिधिमण्डलले यस वार्तामा पूर्ण स्तरको सहमति नभइ स्याना सम्झौताहरू हुने अपेक्षा गरेका छन्।

उनीहरूले राष्ट्रसंघीय मध्यस्थकर्तामार्फत मात्र बोल्ने जनाएका छन्।

वृहत मुद्धा

त्यस्ता कदमहरुले राजनीतिक संक्रमण जस्ता वृहत मुद्धामा छलफल गर्न बाटो खोलीदिने आशा रहेको हाम्रा संवाददाताहरूले बताएका छन्।

बैठकमा सरकारको तर्फबाट भाग लिइरहेका राष्ट्रसंघकालागि सिरियाली राजदूत बशर जाफरीले भने, “हामी सबैको एउटै एजेन्डा हुनु पर्छ, र त्यो भनेको कसरी सिरियाली जनताको हित हुन्छ र कसरी हामो देशको पुनर्निर्माण गर्न सकिन्छ भन्ने हो।“

तर उनले विपक्षी गठबन्धनको प्रतिनिधिमण्डलले सरकारप्रति घृणाको नीति लिएको आरोप लगाए।

उनले दुवै पक्षले कुनै पनि कुरा र उद्धेश्य नलुकाइ खुलेर सबै विषयमा वार्ता गर्न सहमति हुनुपर्ने बताए।

यद्यपी उनले राष्ट्रपति अस्साडले सत्ता छाड्ने वा नछाड्ने भन्नेबारे कुरा गर्न अहिले निकै छिटो हुने र त्यो प्राथमिक्ताको विषय नभएको पनि जनाए।

सन् २०११ माम शुरू भएको सिरियाको द्वन्द्वमा एक लाख भन्दा बढी मानिसले ज्यान गुसमाइकेका छन्।

हिंसाका कारण ९५ लाख मानिस विस्थापित भएका छन् र त्यसले छिमेकी देशहरूमा पनि निकै ठूलो मानवीय संकट पैदा गरिदिएको छ।