सहमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान

  • 26 जनवरी 2014
तस्वीर कपीराइट bbc
Image caption सहमतीय सरकार नबने बहुमतियका लागि राष्ट्रपतिले फेरी आह्वान गर्ने छन्

व्यवस्थापिका संसदको पहिलो बैठक बसेकै दिन राष्ट्रपति रामवरण यादवले सात दिनको म्याद दिएर दलहरुलाई सहमतीय सरकार गठनका लागि आह्वान गरेका छन्।

दोस्रो संविधानसभा चुनाव सकिएको ६८ दिन पुगेपछि राष्ट्रपति रामवरण यादवले संविधानको धारा ३८ (१) अनुसार दलहरुलाई दिएको सातदिन भित्रै उनीहरुले गठन गर्नुपर्नेछ।

अपिल

त्यो जिम्मेवारी आइतबारै संसदीय दलको नेतामा निर्वाचित भएका नेपाली कांग्रेसका पार्टी सभापति सुशील कोइरालाकै काँधमा पुगेको छ।

उक्त पार्टीका नेता मिनेन्द्र रिजालले संविधानसभाका अन्य २९ दललाई आफ्ना सभापतिको नेतृत्वमा सरकार बनाउन सहयोगको अपिल गर्ने बताए।

उनले भने, "संविधानसभा चुनाव पछि सबै दलहरुले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्नेमा जोड दिएको हुनाले पार्टी सभापतिकै नेतृत्वमा सहमतीय सरकार बन्छ।"

कठिन

राष्ट्रपति यादवले सहमतीय सरकारका लागि दलहरुलाई सात दिनको म्याद दिए पनि नेपाली कांग्रेसले शक्ति बाँडफाँडलाई मिलाउन नसकेर दलहरुबीच सहमति जुट्न नसके बहुमतीय प्रणालीमा जानुपर्नेछ।

त्यसका लागि राष्ट्रपतिले फेरि व्यवस्थापिका संसदलाई प्रधानमन्त्री चयन गर्न आग्रह गरेपछि बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

उक्त प्रकृयामा जाँदा भने सरकार गठनका लागि थप समय लाग्ने देखिन्छ।

शक्ति बाँडफाँडमा नेकपा एमालेको चित्त बुझाएपछि मात्र सरकार गठनले मूर्तरुप पाउने ठानिएको छ।