कोइराला संसदीय दलको नेता

  • 26 जनवरी 2014
तस्वीर कपीराइट bbc
Image caption सरकार संचालनका लागि पार्टीभित्रबाट वरिष्ठ नेता देउवाको सहयोग कोइरालाका लागि आवश्यक देखिन्छ

पार्टीको संसदीय दलको नेता निर्वाचित भएसँगै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सरकार गठनका लागि दलहरुसँग अब औपचारिक छलफल थाल्ने बताएका छन्।

वरिष्ठ नेता शेरबहादुर देउवालाई हराउँदै उनी संसदीय दलको नेता बनेका हुन्।

निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता चयन गरिएकोले आगामी दिनमा पार्टीभित्रको समीकरणलाई व्यवस्थित गर्न भने सभापति कोइरालाका लागि चुनौती हुने देखिन्छ।

संविधान जारी नहुञ्जेल प्रधानमन्त्रीका लागि सघाउन देउवाले कोइरालाको आग्रह अस्वीकार गरेपछि दुई नेताबीच आइतबार चुनावी प्रतिस्पर्धा भएको हो।

निर्वाचनको एक दिनअघि पार्टी उपसभापति रामचन्द्र पौडेलको साथ र समर्थन पाएका कोइराला देउवाभन्दा १६ मत बढी ल्याई विजयी भएका हुन।

निर्वाचित

निर्वाचन समितिका संयोजक दिलेन्द्र बडुले भने, ''कुल १९४ मत खसेकोमा सभापति कोइरालाले १०५ र वरिष्ठ नेता देउवाले ८९ मत प्राप्त गर्नुभयो।''

सहमतिमार्फत संसदीय दलको नेता छान्ने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरुको प्रयास विफल भएपछि आइतबार निर्वाचन भएको हो।

नेपाली कांग्रेसले पहिलो हुनेले जित्ने र समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल १९६ सीट ल्याए पनि कोइराला र देउवा दुई ठाउँबाट विजयी भएकाले निर्वाचनमा १९४ सीट मात्र गणना गरिएको थियो।

यसअघि पार्टी सभापति पदका लागि पनि देउवालाई हराएका कोइरालाले संसदीय दलको नेतामा पनि वरिष्ठ नेतालाई पराजित गरेपछि भने, ''यो सबैको जीत हो। सहमति, सहकार्य र मेलमिलाप विना एक्लै पार्टी अघि बढ्न सक्दैन।''

नेताहरुकाअनुसार, मतगणना प्रक्रिया जारी रहँदा वरिष्ठ नेता देउवा सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयबाट बाहिरिएका थिए।

पछि उनले फोनबाट कोइरालालाई संसदीय दलको नेताका लागि विजयी भएकोमा बधाई दिएका थिए।

रणनीति

आइतबारको निर्वाचन परिणाम र एक वर्षका लागि पौडेललाई पार्टी संचालन गर्न दिने कोइरालाको सहमतिको पृष्ठभूमिमा देउवा पक्षको भावी रणनीति के हुन्छ भन्नेमा धेरैलाई चासो छ।

देउवा निकट मानिने नेता विमलेन्द्र निधिले पौडेललाई कार्यवाहक सभापति नमान्ने संकेत गरे।

उनले भने, ''पार्टीको विधानअनुसार सभापति विदेश गएको बेला मात्र उपसभापति कार्यवाहक हुने हो, अन्य अवस्थामा केन्द्रीय कार्य समितिको विशेष निर्णय हुनुपर्दछ।''

लामो रस्साकस्कसीपछि संसदीय दलको नेता चयन भएसँगै कोइरालाका निम्ति भावी प्रधानमन्त्रीक‍ो दाबेदारका रुपमा प्रस्तुत गर्ने बाटो खुलेको छ।

यद्यपि रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने एकीकृत नेकपा माओवादी नेतृत्व पंक्तिको उदघोष र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने दोस्रो ठूलो दल नेकपा एमालेको मागबीच सहमतीय सरकार गठन गर्न कोइरालालाई भने त्यति सहज नहुने जानकारहरु बताउँछन्।