थाइल्याण्डमा सरकार विरोधी नेताको हत्या

  • 26 जनवरी 2014
प्रदर्शनकारीहरु
Image caption थाइ प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरिरहेका छन्

थाइल्याण्डको राजधानी बैङ्ककमा सरकार समर्थकहरुसंगको भीडन्तमा सरकार विरोधी आन्दोलनका एकजना नेताको ज्यान गएको छ।

एउटा -यालीलाई संबोधन गरिरहेका बेला सुथिन तारातिनमाथि गोली प्रहार गरिएको थियो र उनको अस्पतालमा निधन भएको थियो।

केही मतदान केन्द्रहरुमा आउँदो साता हुन लागेको आम चुनावकालागि एक साता अघि नै मतदान गर्न गएका मतदाताहरुलाई रोक्न खोज्ने प्रदर्शनकारीहरु तथा मतदाताहरुबीच हात हालाहाल पनि भएका थिए।

प्रदर्शनकारीहरुले आउँदो साता हुन गैरहेको आम चुनावको एक साता अघि नै मतदान गर्ने कार्य रोक्न मतदान केन्द्रहरुलाई घेराबन्दी गरिरहेका छन्।

पूर्वी बैङ्ककमा सरकार समर्थकहरुसंगको भीडन्तमा प्रदर्शनकारीहरुका एकजना नेता सुथिन तारातिनको ज्यान गयो।

गोली प्रहार

बैङ्ककमा रहेका बीबीसीका संवाददाता जोनाथन हेड भन्छन्, एउटा मतदान केन्द्र बाहिर एउटा ट्रकमा चढेर सरकार विरोधी प्रदर्शनकारीहरुलाई संबोधन गरिरहेका बेला सुथिनमाथि गोली प्रहार गरिएको थियो।

पछि उनको एउटा अस्पतालमा निधन भएको थियो।

प्रदर्शनकारी नेताहरुले मतदानमा अवरोध नपुराउने बताएका थिए, तर कैयौं सरकार विरोधी कार्यकर्ताहरुले कैयौं मतदान केन्द्रहरुका ढोका सिक्रीले बाँधेर बन्द गरीदिएका थिए।

राजधानीका दर्जनौं मतदान केन्द्रहरु तथा कैयौं दक्षिणी प्रान्तहरुमा मतदान रद्द गरिएको छ।

मतहाल्न नपाएका बैङ्ककका एकजना वासिन्दा पुसिन प्लाङक्लाङले भने, “म निराश भएको छु। मैले भोट हाल्न पाइनँ। एकजना थाइ नागरिकको रुपमा म भोट हाल्न चाहन्थें। म आफ्नो मतदान अधिकार प्रयोग गर्न चाहन्थें।”

आह्वान

निर्वाचन आयोगले संभाव्य अवरोध तथा हिंसालाई ध्यानमा राखी आउँदो फेब्रुअरी दुई तारिखकालागि तोकिएको मतदान पर सार्न आह्वान गरेको छ।

तर सरकारले मतदान तोकिएको मितिमै गराइने अडान लिइरहेको छ।

थाइल्याण्डमा आउँदो साताको चुनावमा भोट हाल्न अनुकूल नहुने मतदाताहरुले एक साता अघि नै भोट हाल्न पाउने प्रावधान छ।

सरकार विरुद्धका प्रदर्शनहरुमा भीडन्त बढ्दै गएपछि कतिपय ठाउँहरुमा संकटकाल लगाइएको छ।

गत नोभेम्बर महिनामा थाइ संसदको तल्लो सदनले एउटा विवादास्पद क्षमादान विधेयक पारित गरेपछि त्यहाँ सरकार विरोधी प्रदर्शनहरु शुरु भएका थिए।

आलोचकहरुले उक्त विधेयक थाइल्याण्डमा भ्रष्टाचारको अभियोगमा दोषी ठहराइएका तर हाल निर्वासनमा रहेका प्रधानमन्त्री यिङलकका दाजु तथा भूतपूर्व प्रधानमन्त्री थाकसिन शिनावातलाई स्वदेश फर्काउने हिसाबले ल्याइएको बताएका थिए।

प्रदर्शन

प्रधानमन्त्री यिङलकको फिउ थाइ पार्टीले अघि सारेको उक्त विधेयकलाई पछि संसदको माथिल्लो सदन सिनेटले अस्वीकार गरीदिएको थियो, तर सरकार विरोधी प्रदर्शनहरु भने जारी रहेका छन्।

प्रदर्शनकारीहरुले नयाँ चुनावको सट्टा देशको राजनीतिक प्रणाली नबदलिएसम्म मनोनयन गरिएको जन परिषदले सरकार चलाउनु पर्ने माग गरिरहेका छन्।

तर प्रस्तावित जनपरिषदको संरचना तथा त्यो कसले नियुक्त गर्ने भन्ने जस्ता विषयहरु अस्पष्ट नै छन्।

थाइल्याण्डमा गएको तीन महिना यताका हिंसात्मक घटनाहरुमा कम्तीमा दश जनाको ज्यान गइसकेको छ।

हाम्रा संवाददाता भन्छन्, हिंसा तथा भीडन्तका घटनाहरु अरु बढ्ने आशँका गरिएको छ।