युक्रेनमा विपक्षीद्धारा प्रधानमन्त्री पद अस्वीकार

  • 26 जनवरी 2014
तस्वीर कपीराइट AFP
Image caption प्रस्ताव अस्वीकार गरेपनि राष्ट्रपतिसँग वार्ता जारी रहने विपक्षी नेताहरुले बताएका छन्

युक्रेनमा जारी राजनीतिक संकट समाधानका लागि प्रधानमन्त्री बन्न राष्ट्रपति भिक्टर यानुकोभिचले गरेको प्रस्ताव एक विपक्षी नेताले अस्वीकार गरेका छन्।

फादरलेण्ड पार्टीका नेता आरसेनी यात्सेन्युकले राष्ट्रपतिसँगको छलफल जारी रहने तर प्रदर्शनकारीहरुले कब्जा गरेका राजधानी कियेभका चोकहरु नछाड्ने बताए।

दुई महिना अघि त्यहाँ शुरु सरकारविरोधी आन्दोलन चर्कदै जाँदा राष्ट्रपतिको त्यस्तो प्रस्ताव आएको हो।

अस्वीकार

विपक्षी नेता यात्सेन्युकले कियेभको मुख्य चोकमा प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै उनी र अरु विपक्षी नेता सरकारको नेतृत्व लिन तयार भएपनि त्यो निर्णय राष्ट्रपतिले नभइ युक्रेनका मतदाताले गर्नुपर्ने बताए।

युक्रेनको संसदले महत्वपूर्ण प्रश्नहरुमा मंगलवार छलफल गर्ने हुनाले त्यो दिन निर्णायक हुने उनले उल्लेख गरे।

संसदले राष्ट्रपतिको चुनाव चाँडे गराउने गरी संविधानमा संशोधन गर्ने र सार्वजनिक स्थानमा प्रदर्शन गर्न निषेध लगाउने एउटा कानुन खारेज गर्ने बिषयमा छलफल गर्दैछ।

तस्वीर कपीराइट AP
Image caption युक्रेनका विपक्षीहरुले युरोपियन युनियनसंग निकटसम्बन्धको माग गरिरहेका छन्

राष्ट्रपतिले अर्का पूर्व बक्सिंग खेलाडी रहेका अर्का विपक्षी नेता भिताली क्लित्च्कोलाई उपप्रधानमन्त्रीको पद प्रस्ताव गरेका थिए।

हिंसा

विपक्षी नेताको भाषण सकिए लगत्तै कियेभको मध्य भागमा रहेको सम्मेलन केन्द्र नजिकै प्रदर्शनकारी र दंगा प्रहरीबीच भिडन्त भएको थियो।

कियेभस्थित बीबीसीका सम्वाददाता डेभिड स्टर्न भन्छन्,युरोपसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने माग सहित दुई महिना अघि युक्रनमा सुरु भएको प्रदर्शनको मुख्य माग अहिले राष्ट्रपति यानुकोभिचको राजीनामा भएको छ।

प्रहरीसंगको भिडन्त र विभिन्न चोकमा रहेका सरकारी भवनहरु प्रदर्शनकारीहरुले कब्जा गरेका कारण पछिल्ला हप्ताहरुमा कियेभमा हिंसा बढेको छ।