'सरकार बनाउन कांग्रेसलाई एमालेले सघाउने'

  • 27 जनवरी 2014
Image caption राष्ट्रपतिले सहमतीय सरकारको लागि माघ १९ गतेसम्मका लागि दलहरुलाई म्याद दिएका छन्

संविधानसभाको दोश्रो ठूलो दल नेकपा एमालेले भावी सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसलाई समर्थन गर्ने वचन दिएको छ।

कांग्रेसले आफ्ना सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार बनाउन सहयोगको आग्रह गरेपछि एमालेले त्यस्तो वचन दिएको हो।

सोमबारको वार्तापछि अन्य दलको समर्थन लिन शक्ति बाँडफाँड लगायतका विषयमा दुई दलको तर्फबाट साझा प्रस्ताव तयार गर्न पनि उनीहरु राजी भएका छन्।

समर्थन

भावी सरकारको नेतृत्व गर्न अग्रसर कांग्रेसले सभापति सुशील कोइरालालाई संसदीय दलको नेता छानेको भोलिपल्टै एमाले नेतृत्व तहका नेताहरु माझ साथ र समर्थनको प्रस्ताव राखेको हो।

जवाफमा एमालेले सहमतीय सरकारको निम्ति अघि बढ्न कांग्रेसलाई मौखिक आश्वासन दियो।

तर राष्ट्रपतिको नयाँ चुनावबारे दुई दलबीचको मतभेदको रेखा मेटाउनु पर्नेमा एमालेको जोड छ।

उक्त दलका नेता भीम रावलले भने,"नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने भएपछि हामीले हुन्छ भन्ने आफ्नो धारणा व्यक्त गरेका छौं। तर राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा कांग्रेस र हामीबीच भएको फरक

मतमा कसरी सहमति गर्ने भन्ने विषयमा छलफल सकारात्मक भएको छ।

चुनौती

सर्वोच्च अदालतले राष्ट्रपतिको पदावधि नयाँ संविधान जारी नगर्दासम्म हुने ताजा व्याख्या गरेको छ।

दलहरुले एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यसो हुँदा वर्ष दिनपछि खाली हुने राष्ट्रपति, उपराष्ट्रपति र तत्काल निर्वाचित गर्नु पर्ने संविधानसभा अध्यक्ष र उपाध्यक्ष लगायतका विषयमा प्याकेजमै सहमति हुनु पर्ने एमालेको अडान रहेको छ।

एमाले नेता रावलले भने, "हामीले कुन पदमा को जाने भन्नेमा प्रवेश गरेका छैनौं तर अबका बैठकमा कसमा को जाने भन्ने छलफल हुनसक्छ।"

संविधानसभामा ३० वटा दलको प्रतिनिधित्व छ।

ती मध्ये साथ दिने आश्वासन दिएको एमाले र प्रतिपक्षमा बस्ने घोषणा गरेको एकीकृत माओवादी लगायतका पार्टीसँग शक्ति बाँडफाँडमा सहमति गर्नु चुनौती मुक्त देखिन्न्।

तर राष्ट्रपतिले सहमतिको सरकार बनाउन दिएको समयसीमा माघ १९ गतेभित्रै सहमति जुटाउन नेपाली कांग्रेसले प्रयास गरिरहेको छ।

कांग्रेस नेता मिनेन्द्र रिजालले सरकार गठनका लागि एमालेले नेपाली कांग्रेसलाई लिखित पत्र दिइसकेको बताएका छन्।