'होम्सबाट महिला तथा बालबालिकालाई बाहिर जान दिइने'

  • 27 जनवरी 2014
सिरियाको शान्तिवार्ता तस्वीर कपीराइट Reuters
Image caption स्वीट्जरल्याण्डमा राष्ट्रसंघको आयोजनामा ‌सिरियाली द्वन्द्वका दुवैपक्ष वार्तारत छन्

सिरियामा सरकारी सेनाको घेराबन्दीमा रहेको होम्स शहरका महिला तथा बालबालिकालाई त्यहांबाट अन्यत्र जान दिन सरकारी पक्ष सहमत भएको राष्ट्रसंघले जनाएको छ।

स्वीट्जरल्याण्डको जिनीभामा भैरहेको शान्ति वार्ताको दोस्रो दिन हासिल भएको उपलब्धी भन्दै सिरियाका लागि राष्ट्र संघीय मध्यस्थकर्ता लख्दर ब्राहिमीले त्यसको स्वागत गरेका छन्।

समाधान

“हामीले होम्सका बारेमा धेरै कुरा गर्यौं र अब मलाई आशा छ हामीले कम्तीमा पनि गैरसैनिकहरुका निम्ति केही समाधान हासिल गर्दैछौं। "सम्भवत: भोलीबाटै महिला तथा बालबालिकाले होम्सको पूरानो शहर छाड्न सक्नेछन," ब्राहिमीले भने।

सिरियाका उपविदेशमन्त्री फैसल मेकदादले राष्ट्रसंघको भनाईलाई पुष्टि गर्दै, महिनौं देखि फसिरहेका महिला तथा बालबालिकाहरु होम्समा सरकारी घेराबन्दीबाट बाहिर जान सक्ने बताए। तर तिनीहरुलाई सशस्त्र समूहहरुले त्यहां रोकिराखेका उनको आरोप थियो।

यो पछिल्लो सहमतिलाई जिनीभा वार्तामा उल्लेख्य तर सिमित उपलब्धिका रुपमा लिइएको छ।

होम्सको पुरानो शहरमा महिनौं देखि सयौं मानिसहरु फसीरहेका छन् र तिनमा असक्त विरामी र कमजोरहरु पनि धेरैछन्।

राहत

सिरियाली उपविदेशमन्त्रीले, होम्समा रहेका विद्रोही लडाकुहरुले युद्धविराम गरे भने त्यहां राहत सहायता बोकेका सवारी साधनहरुले प्रवेश पाउन नसक्ने भन्ने प्रश्नै नरहेको पनि बताएका छन्।

बीबीसीकी कुटनीतिक सम्बाददाता ब्रिजीट केन्डल भन्छीन्, यी सबै गतिविधिहरु सकारात्मक देखिन्छ तर सिरिया सरकारको एउटा शर्त पनि छ।

महिला तथा बालबालिका बाहेक होम्सका जारी सरकारी घेराबन्दीबाट बाहिर निस्कन चाहने पुरुषहरुले पहिला अधिकारीहरुलाई तिनको नामावली बुझाउनु पर्नेछ।

यो शर्तलाई विपक्षी वार्ता टोलीका एकजना सदस्यले जोखिमपूर्ण भनेका छन्।

तर सिरियाली सरकारी सैन्यको लामो घेरबन्दीमा रहेका होम्सबाट केहिलाई बाहिर जान दिने र त्यहां राहत सहायता पुर्याउन दिइने समाचारलाई, जिनीभा वार्ताले स्थलमा केहि परिवर्तनका लागि सघाउ पुर्याउन सक्ने संकेतका रुपमा लिइएको छ।