युक्रेनमा प्रधानमन्त्रीको राजीनामा

  • 29 जनवरी 2014
युक्रेनमा विरोध प्रदर्शन र संसदमा मतदान
Image caption राष्ट्रपति र विपक्षीबीचको सहमति पछि युक्रेनमा प्रधानमन्त्री सहित मन्त्रीमण्डलले राजीनामा दिएको हो

युक्रेनका राष्ट्रपति भिक्तोर यानुकोभिचले प्रधानमन्त्री मिकोला अजारफको राजीनामा स्वीकार गरेका छन्।

प्रधानमन्त्री अजारफको राजीनामा, राष्ट्रपति यानुकोभिच र विपक्षी नेताहरुबीच, देशमा जारी सरकार विरोधी प्रदर्शनहरु अन्त्य गर्न भएको सहमतिपछि आएको हो।

एउटा भिडियो सन्देशमा प्रधानमन्त्री अजारफले आफूले देशको विभाजीत राजनीतिक शक्तिहरुलाई एकठाउंमा ल्याउन र सर्वसम्मति हासिल गर्न सघाउन आफूले राजीनामा दिएको बताएका छन्।

राष्ट्रपति यानुकोभिचले प्रधानमन्त्रीका साथै उनको मन्त्रीमण्डलको राजीनामा समेत स्वीकार गरेका हुन्।

तर नयां सरकार गठन नभएसम्म हालका मन्त्रीहरु आफ्ना पदमा बहाल नै रहनेछन्।

अन्तरिम

प्रधानमन्त्रीको अन्तरिम कार्यभार भने प्रथम उपप्रधानमन्त्रीले सम्हाल्ने छन्।

विपक्षीहरुले देशमा वाकस्वतन्त्रताको अधिकारलाई गम्भीर रुपमा सिमित तुल्याउने भनी आलोचना गरेका विवादास्पद कानूनहरु संसदले फिर्ता लिएपछि प्रधानमन्त्रीको राजीनामा आएको हो।

दुई हप्ता अघि ति कानूनहरु लागु गरिएपछि राजधानी कियभको मध्ये भागमा सरकार विरोधी प्रदर्शनकारीहरु र दंगा प्रहरी बिच हिंसात्मक भिडन्त भएको थियो।

संसदले विरोध प्रदर्शनका क्रममा गिरफ्तार भएकाहरुलाई आममाफी दिने कानूनमा पनि मतदान गर्ने अनुमान गरिएको थियो तर त्यस्को मस्यौदा माथि अब बुधबार मात्र छलफल हुनेछ।

युक्रेनमा जारी सरकार विरोधी प्रदर्शनहरु अब राष्ट्रपति यानुकोभिचको समर्थनको आधार रहेका क्षेत्रहरु सहित देशको पूर्वी भेगमा पनि फैलिएको छ।

सरकार र विपक्षीहरुबीच जारी मतभेद सल्टाउने कार्यमा सघाउन भनी युरोपेली संघकी विदेशनीति प्रमुख क्याथरिन एश्टन कियभ पुग्दैछिन्।

भ्रमण

यसैबीच, ब्रसल्समा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी दूतहरुको भ्रमणप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। ब्रसल्समा युरोपेली संघ र रुसबीचको शिखर बैठकपछि बोल्दै राष्ट्रपति पुटिनले, युक्रेनमा विदेशी दूतहरुले गरिरहेका भ्रमणहरुका कारण त्यहांको स्थित झन झन अशान्त बन्न पुगेको बताएका छन्।

उनले भने, “मेरो विचारमा युक्रेनका जनता आफ्नो समस्याको समाधान आफै गर्न सक्षम छन्।

"यो गलत हो, रुस र युक्रेनबीचको सम्बन्धको विशेष पक्षलाई विचार गर्दा यो हाम्रा लागि अस्वीकार्य छ।“

उनको टिप्पणीलाई घुमाउरो तरिकाले युरोपेली संघको नीतिप्रति व्यक्त आलोचनाका रुपमा लिइएको छ।