‘एमालेको संसदीय दलको नेता सर्वसम्मतिले’

  • 29 जनवरी 2014
अध्यक्ष झलनाथ खनाल
Image caption नेकपा एमालेभित्र कुन नेताको पक्षमा सर्वसम्मती हुने हो त्यो प्रष्ट भइसकेको छैन

संविधानसभा एवं व्यवस्थापिक संसदमा दलको नेतृत्व गर्न अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी ओलीबीच तिब्र प्रतिस्पर्धा चलीरहेका विवरणहरु बाहिर आइरहेका बेला सचिव विष्णु पौडेलले दलका नेताको चयन सर्वसम्मतीले हुने बताएका हुन्।

तर कसको पक्षमा सर्वसम्मती हुने हो त्यो उनले स्पष्ट पारेनन्।

एमालेको स्थायी समितिको मंगलबारको बैठकमा समय अभावको कारण देखाउदै संसदीय दलको नेता छान्ने विषयमा अर्को दिन छलफल गर्ने गरी नेताहरुले बैठक टुंग्याएका थिए।

होडबाजी

एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी ओलीबीच लामो समयदेखि संसदीय दलको नेता बन्ने होडबाजीलाई बुधबारको स्थायी समितिको बैठकले सर्वसम्मतिले टुंगो लगाउने सचिव विष्णु पौडेलले बताए।

“दलका नेता तथा उप-नेताको चयन सर्वसम्मतबाटै सम्पन्न हुन्छ, अब त्यो यथार्थ बन्दैछ।”

उनले कसको पक्षमा सर्वसम्मति जुट्ने हो त्यो खुलाएनन्।

यद्यपी कामका जिम्मेवारीको बाँडफाँडका विकल्पहरु प्रशस्त भएकोले तिनैका आधारमा सहमतिमा पुगिने सचिव पौडेलले बताए।

कसरत

दलको नेता नै प्रधानमन्त्री हुने परम्परा रहि आएकोले सरकारको नेतृत्व गर्ने अवसर आएमा दोस्रो ठुलो दलको नेताको हैसियतले आफ्नो दावी सुरक्षित गर्न दुई नेता संसदीय दलको नेता बन्ने कसरतमा लागेको बताइन्छ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न चुनाव नै गरेको थियो।

अर्कोतिर संविधानसभाको तेस्रो ठूलो दल एकीकृत माओवादीको केन्द्रिय कार्यालयले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरिसकेको छ।

त्यसबारे बुधबार विहान केन्द्रिय समितिको बैठकमा छलफल हुने र वैठकले त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ।