झाको आमरण अनसन ११औं दिनमा प्रवेश

  • 30 जनवरी 2014
Image caption मौन आमरण अनसन बसेयता झाले आफूलाई कुनै सरकारी अधिकारीले नभेटेको बताइन्

विहिबार सवेरै उनी खुल्ला मञ्चको पछाडि पट्टीको सानो कोठामा क्रिया बसेजस्तो सेतो कपडा लगाएर भुईंको ओछ्यानमा पल्टिरहेकी थिइन्।

बाहिर भित्तामा भ्रष्टाचारको विरोध र सुशासनको प्रत्याभूती हुनु पर्ने माग लेखिएका तुलहरु टांसिएका थिए।

यस अघि पनि झाले महोत्तरीको बनौली दनौली गाउँ विकास समितिमा लाखौं रुपैंया भ्रष्टाचार भयो भन्ने उजुरी लिएर राजधानी आएर पटक पटक आमरण अनसन बसेकी थिइन्।

उनका माग पुरा गर्ने आश्वासन अधिकारीहरुबाट पाएपछि उनले अनसन तोडेकी थिइन्।

तर महिनौं बितिसक्दा पनि सरकारले सम्झौता पुरा नगरेको भन्दै उनले फेरि विरोध थालेकी हुन्।

असन्तुष्टी

तपाईंको अनसन कहिलेसम्म चल्छ? भन्ने प्रश्नको जवाफमा मौन अनसन बसिरहेकी झाले कागजमा लेखिन्, “सरकारले सम्झौता अनुसार काम नगरेकोले मैलै फेरि आमरण अनसन थालेको हुँ मैलै राखेका माग पुरा नभएसम्म अनसन जारी रहन्छ।”

उनको मागहरुको स‍ूचि लामो छ, तर ती मध्ये प्रमुख हुन्: देशका सबै गाउँ र सबै सरकारी क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गरियोस् र दोषि विरुद्ब कारवाही गरियोस्।

हालै अख्तियारले सरकारी तथा सार्वजनिक क्षेत्रमा आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको आशंकामा कयौ व्यक्तीहरु विरुद्ध कानूनी कारवाहीको प्रक्रियामा थालिसकेको छ।

तर त्यसबाट झा जस्ता भ्रष्टाचार विरोधी अभियानकर्ताहरु सन्तुष्ट छैनन्।

यस अघि झाले आफ्नो गाउँ महोत्तरीको बनौली दनौलीमा भएको आर्थिक अनियमिताबारे उजुरी गरेपछि अख्तियारले त्यसमाथि छानबिन थालेको थियो र मुद्दा विशेष अदालतसम्म पुग्यो।

तर झाले त्यसबाट आफू सन्तुष्ट नभएकोले फेरि आमरण अनसन बस्नु परेको बताइन्।

उनको स्वास्थ्य अवस्था पनि बिग्रिदै गएको उनका सहयोगीहरुले बताएका छन्।

उनीहरुका अनुसार झालाई मौन आमरण बसेयता कुनै सरकारी अधिकारीले भेट्न आएका छैनन्।