युक्रेनका राष्ट्रपति बिरामी बिदामा

  • 30 जनवरी 2014
संसद तस्वीर कपीराइट
Image caption विपक्षीहरुले क्षमादान विधेयकलाई अस्वीकार गरीदिएका छन्

युक्रेनका राष्ट्रपति भिक्टोर यानुकोभिचले देशमा संकट बढीरहेका बेला बिरामी बिदा लिएका छन्।

उनको कार्यालयले उनी श्वासप्रश्वाससंबन्धी संक्रमणबाट बिरामी भएको र उनलाई ज्वरो आएको जनाएको छ।

विपक्षी दलहरुले एउटा नयाँ क्षमादान विधेयकलाई अस्वीकार गरेपछि सरकारविरोधी प्रदर्शनकारीहरुले राजधानी कियभको मध्य भागमा अवरोधहरु तेर्स्याएर सरकारी भवनहरुमा कब्जा जमाइरहेका छन्।

युक्रेनको संसदले यद‌ि प्रदर्शनकारीहरुले हाल उनीहरुले कब्जामा लिइरहेका सरकारी भवन खाली गर्ने हो भने उनीहरुलाई आम माफी दिने एउटा प्रस्तावलाई समर्थन गरेको छ।

कानुन

प्रदर्शनकारीहरुले आउँदो पन्ध्र दिनभित्र सरकारी भवनहरु खाली गरेपछि मात्र त्यो कानुन लागू हुनेछ।

तर विपक्षीहरुले उक्त कानुनलाई अस्वीकार गरीदिएका छन्।

बुधबार उक्त विधेयकमाथि संसदमा भएको मतदानमा विपक्षी दलहरुले भाग लिएनन्।

प्रदर्शनकारीहरुले न्याय मन्त्रालय लगायत विभिन्न सरकारी भवनहरुमा कब्जा जमाइ राखेका छन् र सडकहरुमा अवरोध खडा गरेका छन्।

युरोपेली संघसंग सन्धि गर्नुपर्छ भन्ने पक्षमा रहेका प्रदर्शनकारीहरुले ठिहिराउने जाडोबाट बच्न तथा आफ्नो विरोध अभियान सन्चालन गर्न राजधानी लगायत विभिन्न शहरहरुमा थुप्रै सरकारी भवनहरुमा अड्डा जमाएका छन्।

विरोध

राष्ट्रपति यानुकोभिचले युरोपेली संघसंग स्वतन्त्र व्यापार सन्धि गर्ने एउटा निर्णयलाई उल्टाइदिएपछि गत नोभेम्बर महिनादेखि विरोध शुरु भएको थियो।

उनले त्यसपछि रुससंग झण्डै पन्ध्र अर्ब डलर बराबरको सहायता सन्धिमा हस्ताक्षर गरेका थिए।

उक्त रकमलाई युरोपेली संघसंग सन्धि गर्न अस्वीकार गरेकाले रुसले राष्ट्रपति याकुनोविचलाई दिएको पुरष्कारको रुपमा पनि हेरिएको थियो।

राजधानी कियभस्थित इन्डिपेन्डेन्स स्क्वायरमा भेला भएको एक भीडलाई संबोधन गर्दै भूतपूर्व बक्सिङ खेलाडी तथा हाल जारी देशव्यापी प्रदर्शनहरुका एकजना नेता भिताली क्लिश्कोले आफुहरुको लडाईं जारी रहने बताए।

माग

प्रदर्शनकारीहरुले राष्ट्रपति यानुकोभिचले राजीनामा दिनु पर्ने तथा ताजा चुनाव गराउनुपर्ने माग गरिरहेका छन्।

हाल कियभ पुगेकी युरोपेली संघकी विदेश नीति प्रमुख क्याथरिन एस्टनले उनी त्यहाँ भैरहेको घातक हिंसाबाट स्तब्ध भएको बताइन्।

यसैबीच संयुक्त राज्य अमेरिकाले यदि युक्रेनमा हिंसा अरु चर्किएमा सरकारी तथा प्रदर्शनकारी दुबै नेताहरु विरुद्ध आर्थिक नाकाबन्दी लगाउने विचार गरीरहेको बताइएको छ।

अमेरिकी कँग्रेसका अधिकारीहरुले त्यस्तो नाकाबन्दीको विवरण तयार गर्न बाँकी रहेको तर यदि स्थिति अरु बिग्रिएमा त्यो तुरुन्तै लागू गर्न सकिने बताएका छन्।