राष्ट्रिय अधिवेशन गरौ‌ : भट्टराई

  • 31 जनवरी 2014
Image caption हेटौ‌डामा महाधिवेशन भएको एक बर्ष नबित्दै एकीकृत माओवादीमा नयाँ महाधिवेशनको माग उठेको छ

एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलनको सट्टा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

पार्टीमा पछिल्ला दिनमा देखिएका गंभीर मतभेदको हल खोज्न बोलाइएको केन्द्रीय समिति बैठकमा भट्टराईले त्यस्तो प्रस्ताव राखेका हुन्।

गत बर्ष माघमा हेटौडामा सम्पन्न माओवादीको सत्रौं महाधिवेशनबाट उपाध्यक्ष भएर आएका भट्टराईले गत साउनमा अकस्मात राजीनामा दिएपछि माओवादीले पोलिटब्युरो, स्थायी समिति लगायत कुनै पनि निकाय गठन गर्न सकेको छैन।

बेथिति

कतिपयका भनाइमा सांगठनिक बेथितिका माझ भट्टराईले अध्यक्ष प्रचण्डको पहिले राष्ट्रिय सम्मेलन र त्यसपछि महाधिवेशन भन्ने हालैको प्रस्ताव भन्दा एक कदम अगाडि बढेर सीधा महाधिवेशनको माग गरेका हुन्।

हाल जारी केन्द्रीय समिति बैठकमा माओवादी अध्यक्ष प्रचण्डले केही दिन अघि राष्ट्रिय सम्मेलनपछि विशेष महाधिवेशन गर्ने भन्ने धारणा व्यक्त गरेका थिए।

बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलनकै बदला विशेष महाधिवेशनको प्रस्ताव गरेको केन्द्रीय सदस्य देवेन्द्र पौडेलले बताए।

एउटा महाधिवेशनपछि पार्टी सन्चालनको मुख्य समिति नै गठन गर्न नसकेको पार्टीमा फेरि अर्को महाधिवेशनमा जाने प्रस्ताव गर्नुको कारणबारे खुलाउँदै पौडेलले भने, "सांगठनिक र वैचारिक दुवै विषयमा छलफल गर्न राष्ट्रिय सम्मेलन भन्दा महाधिवेशन नै उपयुक्त हुने भएकाले त्यस्तो माग उहाँले गर्नुभएको हो।"

बैठक

माओवादीको संसदीय दलको नेता छान्ने विषयले पनि केन्द्रीय समिति बैठकमा माओवादी नेताहरुलाई व्यस्त राख्दै आएको छ।

पार्टीमा शक्ति बाँडफाँडलाई लिएर ठूलै मतभेद भएपनि संसदीय दलको नेता भने प्रचण्ड नै बन्ने निश्चित प्राय: रहेको नेता पौडेलले बताए।

हेटौंडा महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता समक्ष सर्वोच्चका प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रचण्डको उदघोषले मूर्त रुप लियो।

तर चुनाव सम्पन्न गराएर गैर राजनीतिक सरकारबाट राजनीतिक दलका हातमा देशको शासन सत्ता फर्किने समयको प्रतीक्षा भइरहेका बेला एकीकृत माओवादी पार्टीको आन्तरिक किचलोको टुंगो तत्काल हुने अवस्था देखिन्न।