यातना दिइएको विपक्षी कार्यकर्ताको आरोप

  • 31 जनवरी 2014
प्रदशृनकारीहरुलाई समाधिस्थ गर्न लगिँदै तस्वीर कपीराइट AP
Image caption हिंसात्मक घटनाहरुमा कम्तीमा तीन जना प्रदर्शनकारीहरुको ज्यान गैसकेकेा छ

एकसाता भन्दा केही अघि देखि हराइ रहेका यु्क्रेनका एकजना प्रमुख विपक्षी कार्यकर्ताले आफुलाई अपहरण गरी यातना दिइएको बताएका छन्।

दिमित्रो बुलातोभले उनलाई अपहरण गरिएपछि लगातार कुटपिट गरिएको र नाडीको बलमा झुण्ड्याइको बताए।

युक्रेनमा जारी राजनीतिक संकट टुङ्गिने कुनै संकेत नदेखिंदा सरकार विरोधी प्रदर्शनकारीहरुले मध्य कियभका सडकहरुमा अखाडा जमाएका छन्।

कियभका सडकहरुमा ठिहिराउने जाडोको परवाह नगरी आयोजित सरकार विरोधी प्रदर्शनहरुमा दिमित्रो बुलातोभ प्रायश: अग्रपङक्तिमा देखिन्थे।

उनले विरोध स्वरुप मोटर -याली पनि आयोजना गरेका थिए।

तर गएको आठ दिनदेखि उनी हराईरहेका थिए।

उपचार

राजधानीको बाहिरी भेगमा पाइएपछि उनलाई उपचारका लागि अस्पताल लगियो।

चोटपटक र रगत लागेको अनुहार अनि अलिकति काटिएको कान सहित टेलिभिजनमा देखा परेका बुलातोभले आफुलाई चरम यातना दिइएको बताए।

उनले मरोस् भन्ने उद्देश्यले आफुलाई राजधानी कियभको बाहिरी भागमा फ्याँकिएको पनि बताए।

विरोधहरु हिंस्रक भएपछि अपहरण गरिएका दुईजना विपक्षी कार्यकर्ताहरुमध्ये एकजनाको शव राजधानी भन्दा बाहिर पट्टि रहेको एउटा जङगलमा पाइएको थियो।

गत जनवरी २२ तारिखमा विरोध प्रदर्शनहरु हिंस्रक भएयता भएका भीडन्तहरुमा तीनजना प्रदर्शनकारीहरु तथा तीनजना प्रहरीको ज्यान गैसकेको छ।

शुक्रबार कियभमा तापमान माइनस १३ डिग्री सेल्सियसम्म पुगेको छ।

प्रदर्शनकारीहरुले बोराहरुमा हिउँ भरेर बाटोमा अवरोध खडा गरेका छन्।

चेतावनी

यसअघि युक्रेनकी न्याय मन्त्री ओलेना लुकाशले यदि सरकार विरोधी प्रदर्शनकारीहरुले राजधानी कियभस्थित मन्त्रालय भवन खाली नगर्ने हो भने आफुले देशमा संकटकाल लगाउन सिफारिस गर्ने चेतावनी दिएकी थिइन्।

तर प्रदर्शनकारीहरुले न्याय मन्त्रालय लगायत युक्रेनका कम्तीमा दशवटा शहरहरुका स्थानीय प्रशासकीय भवनहरुमा कब्जा जमाएका छन् र ती भवन छाडने कुनै संकेत देखाएका छैनन्।

राष्ट्रपति भिक्टर यानुकोविचले गत नोभेम्बर महिनामा युरोपेली संघसंग लामो समयदेखि प्रतीक्षा गरिएको खुला व्यापार सन्धिमा हस्ताक्षर नगर्ने बताएपछि संकट शुरु भएको थियो।

सरकारले हालै सार्वजनिक स्थानहरुमा पाल टाँग्न तथा हेल्मेट एवम् मुख छोप्ने कपडा लगाएर हिँडन नपाइने नयाँ कानुन ल्याएपछि प्रदर्शनकारीहरु थप क्रुद्ध बनेका थिए।

माग

विपक्षीहरुले युरोपेली संघसंग खुला व्यापार संझौतामा हस्ताक्षर गरिनुपर्ने, भूतपूर्व प्रधानमन्त्री युलिया तिमाशेन्को लगायतका बन्दीहरुलाई रिहा गर्नुपर्ने र नयाँ कानुनहरु हटाउनु पर्ने माग गरिरहेका छन्।

यसअघि विपक्षी नेता आर्सेनी यात्सेन्युकले आफ्ना मुख्य मागहरु पुरा नभएको भन्दै उनलाई प्रधानमन्त्री बनाउन राष्ट्पतिले राखेको प्रस्ताव अस्वीकार गरीदिएका थिए।

‘युरो मैदान’ नाम दिईएको विरोध आन्दोलन सामान्यत: शान्त रहे पनि केही उग्र प्रदर्शनकारीहरु तथा प्रहरीबीच इन्डिपेन्डेन्स स्क्वायरस्थित मुख्य प्रदर्शनस्थल भन्दा टाढा भीडन्तहरु भएका थिए।

६३ बर्षीय राष्ट्रपति यानुकोभिचले अहिले बिरामी बिदा लिएका छन् र उनको कार्यालयले उनलाई जरो आएको र उनी श्वासप्रश्वास संबन्धी संक्रमणबाट बिरामी भएको जनाएको छ।