सिरिया शान्तिवार्ताको पहिलो चरणमा सुस्त प्रगति

  • 1 फेब्रुअरी 2014
सिरिया संकट तस्वीर कपीराइट Reuters
Image caption सिरियाको होम्स शहरमा फसेका गैरसैनिकहरुलाई राहत पुर्याउने बारे कुनै सहमति हुन सकेन

संयुक्त राष्ट्रसंघका मध्यस्थकर्ता लख्दर ब्राहीमीले भनेका छन् सिरियाली शान्तिवार्ताको पहिलो चरणमा निकै सुस्त शुरुआत भएको छ तर त्यसमा टेकेर अघि बढ्न सकिन्छ।

उनले भने, सरकार र विपक्षीबीचको दुरी फराकिलो नै छ तर यदि राजनीतिक इच्छाशक्ति भएमा, समाधानमा पुग्न सकिने आधारहरु पनि कायमै छन्।

वार्तामा प्रगति हुन नसक्नुमा सिरियाका दुवैथरी प्रतिनिधिहरुले एक अर्कालाई दोष दिएका छन्।

आठ दिनको वार्तापछि वार्तामा कुनै उल्लेख्य उपलब्धि हासिल हुन सकेन तर वार्ता भंग पनि भएको छैन। वार्ता

एकजना अनुभवी राष्ट्रसंघीय मध्यस्थकर्ता लख्दर ब्राहीमीले भने, कम्तीमा पनि वार्ताको निहूंमा एकअर्कासंग संघर्षरत पक्षहरु एउटा कोठामा बसेर, एक एर्काको कुरा सुन्ने सम्म त भएका छन्।

तर तिनीहरु बीच प्रत्यक्ष कुराकानी भने भएन, तिनीहरु ब्राहीमीलाई सम्बोधन गरेर बोल्ने गर्दथे।

उनले, लडाईंमा फसेका सिरियालीहरुले जिनीभामा निकै ढिलो प्रगति गरेको स्वीकार गरे।

“निश्चय नै प्रगति निकै सुस्त भैरहेको छ, तर दुवै पक्षले सर्वस्वीकार्य ढंगले नै वार्ता गरेका छन्। यो एकदमै सानो शुरुआत हो। तर यो यस्तो शुरुवात हो जस्बाट हामी अघि बढ्न सक्छौं।“

उनले सिरियाको होम्स शहरमा द्वन्द्वमा फसेका गैरसैनिकहरुको स्थितीका बारेमा धेरैपटक कुरा उठेपनि त्यहां विद्यमान कठीन मानवीय संकटको सम्बन्धमा कुनै उपलब्धी हासिल हुन नसकेको बताए। चिन्ता

राष्ट्र संघकी आपतकालीन उद्धार संयोजक भ्यालरी एमोस ले त्यहां महिला, पुरुष र बालबालिकाहरुले अनाहकमा ज्यान गुमाउन परिरहेको अवस्थाले आफू गम्भीर रुपमा निराश र चिन्तित बनेको बताएकी छिन्।

सोमबार रोममा हुने अन्तर्राष्ट्रिय मानवीय सहायता बैठकका बेला त्यस सम्बन्धमा थप दबाब दिने उनले बताएकी छिन्।

वार्तामा, द्वन्द्वका मुख्य विषयहरु: हिंसाको अन्त्य र भविष्यमा राजनीतिक शक्तिको बांडफांट आदीमा कुनै उल्लेख्य प्रगति भएन।

यी चरम विवादका विषयलाई कुन प्राथमिकताका साथ सल्टाउने भन्ने बारेमा समेत सहमति हुन सकेको छैन।

तर अब हुने दश दिनको अन्तरालमा थप गहन अन्तर्राष्ट्रिय कुटनीतिक अभ्यास सहित मुद्दाहरुमा नयां ढंगले प्रवेश गर्न सकिने आशा व्यक्त गरिंदैछ।