युक्रेनबारे परस्पर विरोधी भनाइ

  • 1 फेब्रुअरी 2014
विदेशमन्त्रीद्वय तस्वीर कपीराइट Reuters
Image caption अमेरिकी तथा रुसी विदेश मन्त्रीहरुले एक अर्काको देशको आलोचना गरेका थिए

एउटा अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनलाई संबोधन गर्दै रुस तथा पश्चिमा मुलुकहरुले युक्रेनको विषयमा परस्पर विरोधी धारणा व्यक्त गरेका छन्।

संयुक्त राज्य अमेरिका र युरोपेली संघले युक्रेनी जनताको संघर्षप्रति समर्थन जनाएका छन् भने रुसले उनीहरुमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ।

मन्च

म्युनिखमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलन एकपटक फेरि पश्चिमा मुलुकहरु तथा रुसबीच आरोप प्रत्यारोप गर्ने मन्च बन्न पुग्यो।

युरोपेली परिषदका अध्यक्ष हर्मन भन रम्पाइले भने, "हप्तौं लामो विरोध प्रदर्शनहरु पछि युक्रेनको भाग्य अनिश्चित छ, तर उसको भविष्य युरोपेली संघसंगै गाँसिएको छ।"

अमेरिकी विदेश मन्त्री जोन केरीले भने, “संयुक्त राज्य अमेरिका र युरोपेली संघ युक्रेनी जनताको संघर्षमा उनीहरुसंगै उभिएका छन्। रुस र अन्य मुलुकहरुले उनीहरुका छिमेकीहरुको युरोपेली मुलुकहरुसंगको एकीकरणले उनीहरुलाई नोक्सान पुराउँछ भनेर हेर्नुहुँदैन।”

उनले बहुसंख्यक युक्रेनी जनता स्वतन्त्ररुपमा एउटा सुरक्षित र समृद्ध मुलुकमा बस्न चाहेको बताए।

तर रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युरोपेली संघमाथि हिंस्रक सडक प्रदर्शनहरु तथा प्रहरीमाथि गरिएको हमलाको बचाउ गरेको आरोप लगाए। उनले भने, "जुन विकल्प प्रस्तुत गरिएको छ, त्यसको प्रजातन्त्रको प्रबर्द्धनसंग कुनै संबन्ध छैन।"

प्रदर्शन

गत नोभेम्बरमा राष्ट्रपति यानुकोभिचले युरोपेली संघसंग एउटा साझेदारी संझौता गर्नुभन्दा रुससंग निकट संबन्ध कायम गर्ने निधो गरेपछि त्यहाँ विरोध प्रदर्शनहरु शुरु भएका थिए।

यसअघि एकसाता भन्दा केही अघि देखि हराइ रहेका यु्क्रेनका एकजना विपक्षी नेताले आफुलाई अपहरण गरी यातना दिइएको बताएका थिए। दिमित्रो बुलातोभले उनलाई अपहरण गरिएपछि लगातार कुटपिट गरिएको र नाडीको बलमा झुण्ड्याइको बताएका थिए।

गत जनवरी २२ तारिखमा विरोध प्रदर्शनहरु हिंस्रक भएयता भएका भीडन्तहरुमा तीनजना प्रदर्शनकारीहरु तथा तीनजना प्रहरीको ज्यान गैसकेको छ।

विपक्षीहरुले युरोपेली संघसंग खुला व्यापार संझौतामा हस्ताक्षर गरिनुपर्ने, भूतपूर्व प्रधानमन्त्री युलिया तिमाशेन्को लगायतका बन्दीहरुलाई रिहा गर्नुपर्ने र नयाँ कानुनहरु हटाउनु पर्ने माग गरिरहेका छन्।

अस्वीकार

यसअघि विपक्षी नेता आर्सेनी यात्सेन्युकले आफ्ना मुख्य मागहरु पुरा नभएको भन्दै उनलाई प्रधानमन्त्री बनाउन राष्ट्पतिले राखेको प्रस्ताव अस्वीकार गरीदिएका थिए।

‘युरो मैदान’ नाम दिईएको विरोध आन्दोलन सामान्यत: शान्त रहे पनि कही उग्र प्रदर्शनकारीहरु तथा प्रहरीबीच इन्डिपेनेडेन्स स्क्वायरस्थित मुख्य प्रदर्शनस्थल भन्दा टाढा भीडन्तहरु भएका छन्।

६३ बर्षीय राष्ट्रपति यानुकोभिचले अहिले बिरामी बिदा लिएका छन् र उनको कार्यालयले उनलाई जरो आएको र उनी श्वासप्रश्वास संबन्धी संक्रमणबाट बिरामी भएको जनाएको छ।