एमालेभित्र संसदीय दलको नेताबारे विवाद

  • 3 फेब्रुअरी 2014
तस्वीर कपीराइट .
Image caption मँगलबार सर्वसम्मत नभए चुनावबाटै संसदीय दलको नेता चयन हुने बताइएको छ

नेकपा एमालेको संसदीय दलको नेता चयनमा नेताहरुबीच तीव्र विवाद देखिएपछि सोमबार बसेको केन्द्रीय कमिटिको बैठक विना निष्कर्ष टुंगिएको छ।

संसदीय दलको नेता बन्ने होडबाजीमा रहेका पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी ओलीलाइ पार्टी उपाध्यक्ष बामदेव गौतमले सर्वसम्मत निर्णय गर्न सोमबारको केन्द्रीय कमिटिको बैठकमा आह्वान गरेका थिए।

नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीले आफ्नो पार्टी अध्यक्षलाई नै संसदीय दलको नेतामा चयन गरेको भए पनि नेकपा एमालेमा भने त्यसका लागि चुनौती देखिएको छ।

सम्भावना

यसअघि सँधैँ पार्टी प्रमुख नै संसदीय दलको नेता हुने परम्परा रहेको नेकपा एमालेभित्र यसपटक नेता केपी ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमको समर्थन पाएपछि संसदीय दलको नेतामा चुनाव हुने सम्भावना बढेको छ।

केन्द्रीय कमिटि बैठकले सर्वसम्मतिले दलको नेता चुन्न नसकेपछि मंगलबार फेरि बस्ने गरी बैठक टुंगिएको नेता रघुजी पन्तले बताए।

उनले भने, “सर्वसम्मत हुन नसकेपछि भोलि ११ बजे सहमति गरेर आउने गरि बैठक स्थगित भएको छ, भोलि पनि सर्वसम्मत हुन नसके चुनावमा जाने निर्णय हुन्छ।”

कठिन

अध्यक्ष खनाललाई वरिष्ठ नेता माधवकुमार नेपालले समर्थन गरे पनि आइतबार अचानक पार्टी उपाध्यक्ष गौतमले ओलीलाई समर्थन गर्ने भनेपछि सर्वसम्मतिबाट नेता चयन हुन कठिन देखिएको हो।

पार्टी उपाध्यक्ष गौतमले नेता ओलीलाई समर्थन गरेपछि खनाल र ओलीबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।

केन्द्रीय कमिटि बैठकपछि अहिले अध्यक्ष खनाल र नेता ओली पक्षका नेताहरु छुट्टाछुट्टै छलफलमा बसिरहेको बताइएको छ।

नेताहरुबीच रातभरिमा सहमति जुटाएर मँगलबार ११ बजे हुने केन्द्रीय कमिटि बैठकले सर्वसम्मत गर्न नसके त्यही बैठकले चुनावमा जाने निर्णय गर्न सक्ने नेताहरुले बताएका छन्।