'अफगानी राष्ट्रपतिले जोखिम लिए'

  • 4 फेब्रुअरी 2014
Image caption यसै बर्षको अन्त्यमा नेटो सम्बद्ध शैनिकहरु अफगानिस्तानबाट फिर्ता गर्ने तयारी छ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिवले अफगानी राष्ट्रपति हमीद कारजाईले अमेरिकासँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेर उनकै शब्दमा ‘आगोसँग खेलेको’ आरोप लगाएका छन्।

सो सुरक्षा सम्झौताले यसै बर्षको अन्त्यमा नेटोले नेतृत्व गरिरहेको सैनिक मिसनको बहिर्गमन पछि पनि अफगानिस्तानमा सानो संख्यामा अन्तराष्ट्रिय सैनिकहरुको उपस्थितिको लागि अनुमति दिने छ।

निराशा

बीबीसीको न्युज नाइट कार्यक्रमसँगको अन्तर्वार्तामा महासचिव एनर्स फो रासमुसेनले राष्ट्रपति कारजाईले अन्तराष्ट्रिय सैनिक मिसनबारे व्यक्त गरेको टिप्पणीप्रति निराशा व्यक्त गरे।

एउटा ब्रिटिश समाचार पत्रले राष्ट्रपति कारजाईलाई उदृत गर्दै ब्रिटिश सैनिकले पाईला नराखेको भए हेलमन्ड प्रान्त राम्रो भैसकेको हुने उल्लेख गरेको थियो।

अफगानिस्तानलाई राम्रो बनाउन धेरै ठूलो परिमाणमा रगत र सम्पति खर्च गरेका हुनाले नेटो सम्बद्ध देशहरुले अफ्गानिस्तानको राजनीतिक नेतृत्वबाट अभारको अपेक्षा गरेको महासचिव रासमुसेनले बताए।

चेतावनी

तस्वीर कपीराइट
Image caption राष्ट्रपति कारजाईले चालकरहित विमान ड्रोन हमलाबाट हुने गैरसैनिक हताहतीप्रति आक्रोश व्यक्त गर्दै आएका छन्

सन् २०१४ मा नेटो सम्बद्ध सैनिकहरुको फिर्तीअघि अन्तर्राष्ट्रिय सैनिकहरुको उपस्थिति सुनिश्चित गर्न नसकिए त्यसले अफ्गानिस्तानमा सुरक्षा संकट निम्त्याउन सक्ने उनले बताए।

सो समयसीमापछि सानो संख्यामा अन्तराष्ट्रिय सैनिकहरु राख्ने प्रस्ताव गरिएको सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न राष्ट्रपति कारजाईले अस्वीकार गर्दै आएका छन्।

नेटोका महासचिवले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न असफल भए अफ्गानिस्तानलाई प्रतिवद्धता जनाइएको अन्तर्राष्ट्रिय आर्थिक सहायता खतरामा पर्ने र त्यसले अहिलेकै स्तरमा आफ्नो सुरक्षा फौजलाई सेवा सुविधा उपलब्ध गराउन अफ्गानिस्तानलाई गाह्रो पर्ने पनि संकेत गरे।

राष्ट्रपति कारजाईले सम्झौतामा हस्ताक्षर गर्ने आफूलाई नलागेको भन्दै उनले नयाँ अफगानी राष्ट्रपतिले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति कारजाईको अहिलेको कार्यकाल अन्तिम हो र अफगानिस्तानमा नयाँ राष्ट्रपति चुन्न आगामी अप्रिल ५ मा चुनाव तोकिएको छ।