एमाले संसदीय दलको नेतामा ओली

  • 4 फेब्रुअरी 2014
तस्वीर कपीराइट uml
Image caption ओली निर्वाचित भएपछि त्यसले आउँदो महाधिवेशनमा पार्टी अध्यक्ष चयनलाई समेत प्रभावित पार्ने देखिएको छ

नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरी नेता केपी ओली निर्वाचित भएका छन्।

पहिलो पटक चुनाव मार्फत संसदीय दलको नेता चयन गर्ने क्रममा पार्टी अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीबीच भएको प्रतिस्पर्धामा ओलीले खनाललाई २३ मतको अन्तरले जितेका हुन्।

जित लगत्तै नेता ओलीले पार्टीभित्र लोकतान्त्रिक विधि र नेतृत्व हस्तान्तरणको प्रकृया अघि बढेको बताएका छन्।

सफलता

उनले भने, "हामीले पार्टीलाई लोकतान्त्रिक विधि र नेतृत्व हस्तान्तरण तर्फ लैजान खोजेका छौं।"

यसअघि एमालेमा केन्द्रीय कमिटीको बैठकले पार्टी नेतृत्व गरेकै व्यक्तिलाई संसदीय दलको नेतामा सर्वसम्मति गराउने प्रयास गरेको थियो।

नेकपा एमालेभित्र यो हप्ताको सुरु देखि नै संसदीय दलको नेता चयनमा वरिष्ठ नेताहरु तीव्र विभाजित हुँदै आएका थिए।

आइतबार अकस्मात पार्टी उपाध्यक्ष बामदेव गौतमले संसदीय दलको नेताका आकांक्षी केपी ओलीलाई समर्थन गर्ने भएपछि पार्टीभित्रकै नेताहरुमा गुट उपगुटका छुट्टाछुट्टै छलफलले तीब्रता पाएको थियो।

सोमबार र मंगलबार चुनाव हुनुअघि बसेको केन्द्रीय कमिटिको बैठकले सर्वसम्मत रुपमा नेता चयन गर्न सकेको थिएन।

अन्तत निर्वाचन हुँदा जम्मा १७३ सभासदमध्ये ओलीले ९८ र खनालले ७६ जनाको समर्थन पाए।

पीडा

यसअघि पार्टी नेतृत्व गरेकै व्यक्ति संसदीय दलको नेता हुने गरेको भए पनि एमालेको आठौं अधिवेशनले प्रस्ताव गरेकै विषयलाई यो चुनावले अँगालेको उक्त दलका सचिव शंकर पोखरेलको भनाइ छ।

उनले भने, “आठौं महाधिवेशनबाट हामीले कार्यकारी भूमिकामा निर्वाचनबाटै नेतृत्वको चयन हुनुपर्ने विषयलाई अघि सारेका थियौं। त्यही अन्तर्गतको पहिलो अभ्यासको रुपमा यो नतिजालाई लिनुपर्छ।”

सोमबार सहमतिमा संसदीय दलको नेताको नाम चयन हुन नसकेपछि केन्द्रिय कमिटि बैठक रातभरीमा सहमति खोज्ने गरि स्थगित भएको थियो।

रातभरिको प्रयासमा गौतम-ओली पक्षले पार्टी अध्यक्षलाई आफ्नो पक्षमा तान्न निकै जोडबल गरेको थियो।

त्यसैमा सहमति हुने नेताहरुले बिहानसम्म बताइरहेका थिए।

तर ‌मंगलबार दिउँसोसम्ममा नेताहरु बीच त्यस्तो सहमति जुट्न सकेन।

नेकपा एमालेको आन्तरिक समीकरण बुझेका कतिपय विश्लेषकहरुले भने पार्टी अध्यक्षको हारको सबभन्दा ठूलो पीडा उनलाई समर्थन गर्दै आएका पूर्व महासचिव माधवकुमार नेपाललाई परेको हुनसक्ने बताएका छन्।