संयुक्त प्याकेज बनाउन कांग्रेसको प्रस्ताव

  • 6 फेब्रुअरी 2014
सुशील कोइराला तस्वीर कपीराइट bbc
Image caption सबभन्दा ठूलो दलको सभापतिको हैसियतमा सुशील कोइराला प्रधानमन्त्रीको दौडमा छन्

सरकार निर्माणका लागि अग्रसर नेपाली कांग्रेस शक्ति बाँडफाँड र सरकारको अवधिबारे नेकपा एमालेसंग मिलेर संयुक्त प्याकेज निर्माण गर्न तयार रहेको उक्त पार्टीका तर्फबाट एमालेसंग वार्ता गर्न गठित टोलीका एक सदस्यले जनाएका छन्।

एमालेका नेताहरुले बारम्बार सरकार निर्माणको प्याकेज प्रस्ताव माग गरेपछि कांग्रेसले संयुक्त प्याकेज निर्माणको प्रस्ताव राखेको हो।

बारम्बार

यस अघि पटक-पटक नेपाली कांग्रेसका नेताहरुले आफुहरुले कुनै दल विशेषका निम्ति प्याकेज प्रस्ताव नबनाउने बताउँदै आएका थिए।

तर दोस्रो ठूलो दल नेकपा एमालेका तर्फबाट सोही अनुरोध बारम्बार आएपछि र एमाले संसदीय दलको नेतामा नवनिर्वाचित केपी ओलीबाट समेत सोही किसिमको टिप्पणी गरिएपछि कांग्रेसका नेताहरुले संयुक्त प्याकेज निर्माण गर्न प्रस्ताव राखेका हुन्।

एमालेसंग सत्ता बाँडफाँड लगायतका विषयमा कुरा गर्न गठित टोलीका सदस्य तथा कांग्रेस नेता दिपकुमार उपाध्यायले सरकार निर्माण गर्ने विषय दुवै पार्टी बसेर सदाशयतापूर्वक हल गर्नुपर्ने बताए।

“उहाँहरुले तिमीहरु प्याकेज ल्याउ भन्नु हामीलाई असजिलो कुरा हो। हामीले दुवै मिलेर बनाऔं भनेका छौं। त्यो प्याकेज भनेको त राष्ट्रका लागि हुनुपर्छ। त्यसमा न्यूनतम सहमतिका आधार पत्रहरु बन्ला। भोलि जे जे गर्नुपर्ने हो ती सबै संयुक्त रुपमा नै गर्नुपर्छ,” उपाध्यायले भने।

अड्को

त्यस्तो प्रस्तावित साझा प्याकेज बनाउन सबभन्दा जटिल हुने ठानिएको सत्ता बाँडफाँडको विषयमा भने दुई दलका दुई थरी भनाई आउने क्रम रोकिएको छैन।

नेकपा एमालेले सम्मानजनक हैसियत विना सरकारमा सामेल हुन नसकिने जनाएको छ भने कांग्रेसले आफ्नो दलको प्रधानमन्त्री स्वीकार गर्ने भइसकेपछि एमालेले मन्त्रालय बाँडफाँडमा अड्को नथापी सहयोग गर्नुपर्ने आग्रह गरेको छ।

“यस्तो विषयमा किन किचकिच गर्ने। फेरि यो प्रधानमन्त्री पद्धति हो। प्रधानमन्त्री स्वीकारिसकेपछि प्रधानमन्त्रीको मर्यादा र उसलाई काम गर्न सजिलो हुने वातावरणपनि बनाइदिनुपर्छ भन्ने हाम्रो उहाँहरुसमक्ष एकदमै विनम्र आग्रह हो,” कांग्रेस नेता उपाध्यायले भने।

तर सहजै सत्ता बाँडफाँडमा सहयोग गर्न नेकपा एमाले तयार देखिँदैन।

“नेकपा एमाले आफ्नो हैसियत बिर्सिएर विना विभागीय मन्त्रालय मात्र लिएर सरकारमा जाँदैन,” एमालेका सचिव विष्णु पौडेलको भनाई थियो।

उनका अनुसार सकेसम्म सत्ताको नेतृत्व गर्न आकांक्षा राखेको दलले नै प्रारम्भिक प्रस्ताव ल्याउनु उचित हुने भएपनि साझा प्रस्ताव तयार पार्न एमाले तयार नै छ।

संसदले आगामी सोमबारको लागि प्रधानमन्त्री निर्वाचनको मिति तोकेको छ।

शनिबार र आईतबार आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

कुनै दलको पनि स्पष्ट बहुमत नभएकाले त्यसअगावै सहमति हुन आवश्यक देखिन्छ।