रुस जाने विमानसेवालाई सावधान रहन सुझाव

  • 6 फेब्रुअरी 2014
सोची ओलिम्पीक्स तस्वीर कपीराइट REUTERS
Image caption शुक्रबारदेखि रुसको सोची शहरमा शीतकालीन ओलिम्पीक्स प्रतियोगिता आरम्भ हुंदैछ

संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षा निकाय 'होमल्याण्ड सेक्युरिटी'ले रुस तर्फ उड्ने विमान सेवाहरुलाई, आतंकवादीहरुले दन्तमञ्जनको ट्यूवहरुभित्र विष्फोटक पदार्थहरु लुकाएर यात्रा गर्न सक्ने भनि सावधान गराएको बताइएको छ।

शीतकालीन ओलिम्पीक्सका लागि हजारौं मानिसहरु, रुसको हीमाली पर्यटकीयस्थल सोची तर्फको यात्रामा जांदै गरेको बेला त्यस्तो चेतावनी दिइएको छ।

सुझाव

नाम उल्लेख नगर्ने शर्तमा एकजना अमेरिकी सुरक्षा अधिकारीले अमेरिकी संचार माध्यमसंग कुरा गर्दै, अमेरिकाबाट समेत रुस तर्फ प्रत्यक्ष उडान गर्ने लगायतका विमानसेवाहरुलाई 'होमल्याण्ड सेक्युरिटी' मन्त्रालयले त्यस्तो सुरक्षा सचेतताको सुझाव दिइएको बताएकाछन्।

'होमल्याण्ड सेक्युरिटी'का एकजना अधिकारीले भने, त्यसरी लुकाएर लगिएका बस्तुहरुको प्रयोग उडानमा रहेको विमानमा नै अथवा शीतकालीन ओलिम्पीक्स स्थलमा पुगेपछि बम बनाउनमा हुनसक्छ।

एउटा बक्तव्यमा उक्त मन्त्रालयले भनेको छ, उपयुक्त सूचना तथा जानकारीहरु उक्त सुरक्षा निकायले आफ्ना आन्तरिक र अन्तर्राष्ट्रिय साझेदारहरुसंग नियमीत रुपमा आदानप्रदान गर्दै आएको छ।

सोची

Image caption डिसेम्बरमा भोल्गोग्रादमा भएको हमलापछि सोचीका सम्बन्धमा पनि सुरक्षा चिन्ता बढेको थियो

र ति सूचनाहरु सोची ओलिम्पीक्स जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुसंग सम्बन्धित पनि हुन्छन्।

उक्त सुरक्षा निकायले हालैका लागि भने अमेरिका विरुद्ध कुनै विशेष र स्पष्ट प्रकारको खतराका बारे आफूलाई थाहा नभएको पनि बताएको छ।

रुसको विदा मनाउने लोकप्रिय हिमाली क्षेत्र सोचीमा आउंदो शुक्रबार देखि शीतकालीन ओलिम्पीक्स आरम्भ हुंदैछ।

गत डिसेम्बर महिनामा, आत्मघाती बम हमलाकारीहरुले रुसको भोल्गोग्राद शहरमा गरेको आक्रमणमा ३४ जनाको ज्यान गएपछि, सोचीमा हुन गैरहेको शीतकालीन ओलिम्पीक्स प्रतियोगितामा सुरक्षाको चिन्ता ब्यापक रुपमा ब्यक्त हुंदै आइरहेको छ।