के भारतमा यौनहिंसा उक्साउन बलिउड जिम्मेवार छ?

  • 7 फेब्रुअरी 2014
बलिउड तस्वीर कपीराइट Ra one
Image caption भारतमा महिला विरुद्ध यौन हिंसा उक्साउन बलिउड जिम्मेवार छ?

सन् २०१२ को डिसेम्बरमा भारतको राजधानी दिल्लीमा एउटा यात्रुवाहक बसमा ‌२३ बर्षिया छात्राको बलात्कार र ‌ पछि मृत्यु भएको घटनाले संसार भर चर्चा पाउनुका साथै देशभित्रै पनि राष्ट्रव्यापी आक्रोश ‌व्यक्त भएको थियो। त्यसताका बलिउडका सबैभन्दा ठूला मध्येका एकजना स्टार शाहरुख खानले ट्वीटरमा सन्देश दिंदै भनेका थिए: “मलाई यो समाज र संस्कारको हिस्सा भएकामा दु:ख छ। मलाई पुरुष भएकामा दु:ख छ।“

त्यस घटना यता भारतमा यौन हिंसाका अनेकौं विवरणहरु सार्वजनिक भैरहेका छन्। गत महिनामात्र पश्चिम बंगालमा सामूहिक बलात्कारको स्तब्धकारी घटना प्रकाशमा आएको थियो, जस्मा एकजना बीस बर्षिया युवतीलाई गाउंले अगुवाहरुको निर्देशनमा सजायं स्वरुप सामूहिक बलात्कार गरिएको थियो। भारतको राष्ट्रिय अपराध अभिलेख व्युरोको तथ्यांक अनुसार, हाल भारतमा हरेक २२ मिनेटमा बलात्कारको एउटा घटना हुने गरेको छ। प्रश्न

यि स्तब्धकारी घटनाहरुपछि मानिसहरुले गर्ने आत्म समीक्षाका क्रममा उठ्ने एउटा प्रश्न हो: भारतीय महिलाहरुमाथि हुने यौन हिंसा उक्साउनका लागि - भड्किलो दृश्य र कथाहरु सहितका चलचित्रहरु निर्माण हुने - चलचित्र उद्योग, बलिउड, जीम्मेवार छ की छैन?

भारतीय सिनेमामा देखाइने महिलाहरुको छविको प्रस्तुतीमा हालसालै केही सुधार देखिएको भएपनि, एकजना चर्चित फिल्म निर्देशक मीरा नायर बलिउडले गर्ने महिलाहरुको प्रस्तुति प्रति खुशी छैनन्। बलिउडमा महिलालाई प्राय: अपमानजनक तरिकाले प्रस्तुत गरिने उनको गुनासो छ। “हाम्रा धेरैजसो फिल्महरुमा महिलालाई पुरानो ढर्राको शैलीमा नै प्रस्तुत गरिन्छ”, उनी भन्छिन्। “फिल्ममा एउटा तरुनीलाई प्रस्तुत गरिन्छ भने उनले कामुक ढंगले जीउ कम्मर हल्लाउनु नै पर्छ, उनी यौनको दृष्टिले ठूलो आकर्षणको बस्तु बन्नु नै पर्छ, म त भन्छु त्यो अश्लीलताको हदसम्म पुग्छ।“‌

खास चिन्ता व्यक्त गरिने विषय चाहिं “आइटम नम्बर” भनिने गीत र नाच हो, जुन एकदमै लोकप्रीय मानिन्छ। बलिउडका फिल्महरुमा नियमित जस्तै हुने यस्ता “आइटम नम्बर”हरुमा कामुक, यौन उत्तेजक भाव भंगिमा सहित संयोजन गरिएका नृत्य र दृश्यहरु हुन्छन्। थुप्रै चलचित्र दर्शकहरुका निम्ति यस्ता “आइटम नम्बर”हरु रुचीपूर्ण मनोरञ्जनका साधन हुन्। तर मीरा नायर यसलाई भिन्न दृष्टिले हेर्छिन्। “आम दर्शकका लागि तयार पारिएको फिल्ममा हुने आइटम नम्बरहरुमा बलिउडका चर्चित यौवनाले, प्राय: पुरुष प्रधान वातावरणमा, अंगप्रत्यंग हल्लाएर भडकिलो नाच नाचेको हेर्नु पर्छ।“ मीरा नायर भन्छिन्,” म यो प्रवृति प्रति प्रश्न गर्न चाहन्छु। मलाई लाग्दैन की यस्तो कार्यले महिला र पुरुषबीच कुनै पनि प्रकारको सम्मानजनक अन्तरक्रियालाई प्रवर्धन गर्छ भनेर।“ पुरुष भारतीय अभिनेत्री तिलोत्तमा सोमे भन्छिन्, बलिउडले महिलालाई कुन रुपमा प्रस्तुत गरिरहेको छ भन्ने विषयमा मात्र केन्द्रीत हुनु हुंदैन। “यो पुरुषलाई कुन रुपमा प्रस्तुत गरिंदैछ भनेर पनि ध्यान दिनुपर्ने विषय हो,” उनी भन्छिन्। “पर्दामा देखिने पुरुष ‘मर्द ‘ प्रकारको हुन्छ, कि आक्रामक या निकै रुढीवादी। परम्परागत मान्यताको प्रस्तुती पुरुषका लागि पनि महिलाको लागि जत्तिकै हानीकारक छ। र यस्तो प्रस्तुतीको निरन्तरताले समाजलाई प्रभावित त तुल्याउंछ नै।“

चिन्ता व्यक्त गरिने अर्को विषय भनेको, फिल्महरुमा बारम्बार देखाइने त्यस्तो धारणा हो जस्मा यदि यौनप्रस्तावप्रति भारतीय महिलाले नाईं भन्छिन् भने त्यस्को मतलब हुन्छ भनेर बुझ्नुपर्छ भन्ने हो। थुप्रै बलिउड फिल्महरुमा पुरुष पात्रले महिला पात्रलाई निकै नै पछ्याउनु सर्वस्वीकार्य व्यवहारका रुपमा देखाइन्छ।

बलिउडका अर्का ठूला कलाकार आमीर खान, महिला पात्रलाई त्यसरी हैरान पार्ने गतिविधिलाई सामान्य वा स्वाभाविक कार्यका रुपमा देखाउने फिल्मप्रति चिन्ता व्यक्त गर्छन्। “कतिपय फिल्महरुले त्यस्ता क्रियाकलापलाई ‘फेशनेबल’ वा अनुकरणीय व्यवहारका रुपमा प्रस्तुत गर्छन्”, उनी भन्छन्, “जुन एकदमै दुर्भाग्यपूर्ण हो। त्यो हाम्रो सोचाइको प्रतिविम्ब हो। र यो दु:खद छ।“

तर बलिउडमा सबैजना फिल्ममा महिलालाई प्रस्तुत गरिने भूमिकाका बारे क्षमायाचकका रुपमा प्रस्तुत हुनु पर्छ भन्ने ठान्दैनन्। फिल्मस्टार शाहरुख खान भन्छन्: “भारतमा सिनेमाले महिलालाई अपमान हुने ढंगले प्रस्तुत गर्दैन भन्नेमा म स्पष्ट छु। कसैले त्यसो भन्छ भने त्यो एकदमै निकटदर्शी धारणा हो।“

उनी आफ्नो तर्कको पक्षमा भन्छन्, भड्किलो आइटम नम्बरहरुमा सहभागी हुने अभिनेत्रीहरुलाई आफूले गर्ने कामप्रति कुनै गुनासो छैन।

आलोचक

महिलावादी आलोचकहरुको तर्क छ, निरन्तर रुपमा सिनेमाको पर्दामा महिलालाई यौनको साधनका रुपमा प्रस्तुत गरिंदा, वास्तविक दुनियांमा पनि महिलामाथि त्यसको हानीकारक प्रभाव पर्न सक्छ र त्यसबाट हिंसाका घटनाहरु हुन सक्छन्। शाहरुख खान यि दुईमा कुनै सम्बन्ध देख्दैनन्। उनी भन्छन्, “यो त फिल्ममा हिंसात्मक दृश्यहरु देखाइंदा सडकमा पनि हिंसा फैलिन्छ भने जस्तै हो।“

“फिल्ममा देखाइने कमेडी (हास्यव्यंग्य) सडकमा पनि फैलिएको मैले देखेको छैन। यस्तोमा महिलाप्रति बाहिरी समाजमा गरिने व्यवहार, र महिलालाई उपभोग्य बस्तुका रुपमा गरिने प्रस्तुति बलिउडकै कारणले गर्दा हो भनेर कसरी अनुमान गर्न सकिन्छ? म त्यस्तो हुन्छ भन्ने पटक्कै ठान्दिनं,” खानले भने।

अहिले मानिसहरुको ध्यान भारतमाथि परिरहेको भएतापनि बलात्कारको घटनाहरुको सम्बन्धमा भारत अझै अमेरिकाको तुलनामा निकै तल नै छ। फेरि चाहे भारत होस् या अमेरिका महिलाविरुद्धको हिंसाका घटनाहरु उक्साउनमा, चलचित्रको पर्दामा महिलालाई गरिने प्रस्तुती बाहेकका पनि अनगिन्ती अन्य कारणहरु छन्।