सरकारको नेतृत्व गर्ने एमालेको चेतावनी

  • 7 फेब्रुअरी 2014
Image caption प्रधानमन्त्री निर्वाचित गर्न आउँदो सोमबारको मिति तय गरिएको छ

नेकपा एमाले संसदीय दलका नवनिर्वाचित नेता केपी शर्मा ओलीले नेपाली कांग्रेसले शक्ति बाँडफाँडको ठोस प्रस्ताव दिन नसके आफ्नो दलले सरकारको नेतृत्व गर्ने बताएका छन्।

शुक्रबार व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिई बोल्दै नेता ‌ओलीले कांग्रेसले अस्वीकार गर्दै आएको राष्ट्रपतिको चुनाव हुनु पर्ने अडान समेत सार्वजनिक गरे।

उनको उक्त अडानमा एकीकृत माओवादीले पनि सही थपेको छ।

आफ्ना अध्यक्षलाई परास्त गर्दै ओली संसदीय दलको नेता बनेपछि उनको पार्टीभित्र मात्र होइन अन्य दलसँग एमालेको सम्बन्धलाई प्रभावित पार्ने आँकलन कतिपयले गरेका थिए।

अडान

त्यसलाई बल पु-याउने गरी नेता ओली सत्ताको बागडोर सम्हाल्ने सुरसारमा रहेको कांग्रेसलाई चुनौती दिँदै संसद बैठकमा पेश भए।

एमाले संसदीय दलका नेता ओलीले संसदको विशेष समयमा लिएर बोल्दै भने, “यदि नेपाली कांग्रेससँग ठोस प्रस्ताव छैन भने हामी उनीहरुको समर्थनमा सरकारको नेतृत्व गर्न सक्षम छौं।”

पार्टीको कुनै कार्यकारी पदमा नरहँदा अरुलाई अप्रिय लागे पनि आफ्ना अभिव्यक्तिमा अडिग रहने नेताको परिचय बनाएका ‌ओलीले राष्ट्रपतिको चुनाव हुनु पर्ने अडान प्रकट गरेका हुन्।

तर कम्तीमा संसदबाट राष्ट्रपति अनुमोदन गर्न सकिने सम्भावना जीवित राख्दै सावधानीपूर्वक उनले त्यसतो अडान राखेका थिए।

नेता ओलीले भने, “यो नयाँ संविधानसभा भएकोले यसले राष्ट्रपतिलाई चिन्न पाउनुपर्छ। यो संविधानसभा भाग २ होइन।”

समर्थन

माओवादीको कडा आलोचकको छवि बनाएका ओलीको राष्ट्रपति चुनावबारेको यो अडानलाई एकीकृत माओवादीले पनि सघाएको छ।

तर त्यो समर्थन एमाओवादीको दोश्रो तहका नेता गिरिराजमणि पोखरेलले अभिव्यक्त गरेका थिए।

ओलीको प्रस्तावलाई समर्थन गर्दै एमाओवादी नेता पोखरेलले भने, ”नयाँ जनादेशबाट बनेको संविधानसभाले चुनाव गर्नुपर्छ र नयाँ ढंगबाटै जानुपर्छ भन्ने मान्यता राख्छ।”

कांग्रेस सभासद अर्जुननरसिंह केसीले भने राष्ट्रपति चुनाव हुनु पर्ने अन्य दलको मागको प्रतिवाद गरेका थिए।

संसदमा देखिएको राजनीतिक जुहारी र परस्पर विरोधी अडानले सरकार गठनमा थप ढिलाई हुने त होइन वा त्यसले अस्थिर राजनीतिको शुरुवात गर्ने त होइन भन्ने आशंका बढाइ दिएको छ।