युक्रेनबारेको अमेरिकी फोन वार्ता आलोचित

  • 7 फेब्रुअरी 2014
तस्वीर कपीराइट Reuters
Image caption अमेरीकाले रुसले सो कुराकानी चुहाएको हुनसक्ने आंश‌का गरेको छ

दुई अमेरीकी कुटनीतिज्ञबिच गोप्य रुपमा भएको भनिएको कुराकानीले युक्रेनमा जारी संकटबारे संयुक्त राज्य अमेरीका र युरोपियन युनियन बिचको राजनीतिक मतभेद बाहिर ल्याइदिएको छ।

सो कुराकानीमा अमेरीकी सहायक विदेशमन्त्री भिक्टोरिया नुलन्डले युक्रेनमा इयुको संलग्नतालाई नराम्रो शब्द प्रयोग गरी आलोचना गरेको सुनिन्छ।

अमेरीकी विदेश मन्त्रालयले सो रेकर्डिगको आधिकारीक्ता सिधैँ पुष्टि नगरेपनि नुलन्डले उनका इयु समकक्षिसँग माफी मागेको जनाएको छ।

सार्वजनिक

सहायक विदेश मन्त्री नुलन्ड र युक्रेनका लागी अमेरीकी राजदुतविच भएको भनिएको कुराकानी रुसी भाषामा टिपोट गरेर बिहिवार युट्युबमा राखिएको थियो।

कुराकानीका क्रममा महिला वक्ताले युक्रेनको संकट हल गर्न संयुक्त राष्ट्रसंघको प्रयास र उसको सम्भावित भुमिकाबारे चर्चा गरेकी छन्।

इयुलाई छाडा शब्दमा गाली गर्नुअघि उनले नकारात्मक अर्थ दिने लवजमा युक्रेन सकट हल गर्न राष्ट्रसंघले सहयोग गर्न सक्ने बताएकी छन्।

सो कुराकानीमा पुरुष वक्ताले युक्रेनबारे रुसले पर्दा पछाडि खेलिरहेको जवाफ फर्काएको सुनिन्छ।

दुई अधिकारीहरुले युक्रेनका तीन विपक्षि नेताहरुका सबल पक्षबारे पनि कुराकानी गरेका छन्।

महिला वक्ताले पूर्व बक्सिङ खेलाडी रहेका विपक्षी नेता भितालि क्लित्चोलाई सरकारमा ल्याउन नहुने उल्लेख गरेकी छन्।

मस्कोको तिव्र दवावमा राष्ट्रपति भिक्तोर यानुकोभिचले इयुसँग गएको नोभेम्बर महिनामा व्यापार सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेपछि युक्रेनमा सरकारविरोधी प्रदर्शनहरु भैरहेका छन्।

माफी

अमेरिकी विदेशमन्त्रालयले सो रेकर्डिङको आधिकारिकतालाई चुनौति दिएको छैन्। वासिङटन स्थित एक जना प्रवक्ताले सो कुराकानी चुहिनुमा मस्को जिम्मेवार रहेको आरोप लगाइन्।

विदेश मन्त्रालयकी प्रवक्ता जेन साकिले भनिन्,“निश्चय नै हामी इयु र इयुका प्रतिनिधिसँग एकदमै नजिक रहेर काम गर्छौ र युक्रेनसँग सम्बन्धित भएकाले सहायक विदेशमन्त्री नुलन्ड पनि त्यसै गर्छीन्, उनी इयुका आफ्ना समकक्षीहरुसँग सम्पर्कमा छिन र स्वाभाविक रुपमा क्षमायाचना गरेकी छन्।”

इयुका एक जना अधिकारीले इन्टनरनेटमा चुहिएको भनिएको कुराकानीबारे प्रतिक्रिया नदिने भन्दै इयुले युक्रेनको सकट हल गर्न सहयोग गरिरहेको बताए।

एक जना रुसी अधिकारीले सो अडियोबारे सबैभन्दा पहिलो ध्यानाकर्षण गराएको भन्दै अमेरीकाले सो कुराकानी चुहिनुमा मस्को जिम्मेवार रहेको हुनसक्ने संकेत गरेको छ।