कांग्रेस-एमालेद्वारा छलफललाई तीव्रता

  • 8 फेब्रुअरी 2014
तस्वीर कपीराइट AP
Image caption कांग्रेस र एमालेबीच सहमति नभए सोमबारको निर्वाचन अनिर्णित हुने देखिन्छ।

सरकार गठनबारे सहमति जुटाउन दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले छलफललाई तीव्रता दिएका छन्।

सत्ता बाँडफाँडबारे सहमति नहुँदा उनीहरुले प्रधानमन्त्री निर्वाचनका लागि शनिबार उम्मेदवारी दिएनन्।

संसद सचिवालयकाअनुसार दुवै दलले भने उम्मेद्वारी फारम लगेका छन्।

सोमबार प्रधानमन्त्रीको निर्वाचन गराउने तयारीमा रहेको संसद सचिवालयले प्रधानमन्त्रीका लागि उम्मेद्वारी दिन शनिबारदेखि आईतबार साँझ ५ बजेसम्मको समय दिएको छ।

उम्मेद्वारी

संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माकाअनुसार नेपाली कांग्रेसका सभासद् आनन्दप्रसाद ढुंगाना र एमाले सभासद् रामवीर मानन्धरले शनिबार प्रधानमन्त्री उम्मेदवारीको फारम लगेका छन्।

तर सहमति नभएकोले उम्मेदवारी नदिई दुबै दल श्रृंखलाबद्ध छलफलमा व्यस्त छन्।

उनीहरुले निर्वाचनअघि नै सहमतिमा पुगिने विश्वास छाडेका छैनन्।

कांग्रेस सभापतिकातर्फबाट पुगेका कांग्रेस नेताहरुसँगको छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले छिटै सहमति हुने बताए।

उनले भने, ‘’हामी राष्ट्रपति तथा मन्त्रालय बाँडफाँड लगायत सबै विषयमा छलफल गर्छौं र सम्भवतः शनिबार नै सहमतिमा पुग्छौं।‘’

अडान

एमालेले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन र शक्ति बाँडफाँडबारे प्याकेजमा सहमति हुनुपर्ने अडान लिएको छ।

राष्ट्रपति निर्वाचनको विषयलाई उसले संसदमै उठाएपछि कांग्रेस अप्ठयारोमा परेको देखिन्छ।

राष्ट्रपति निर्वाचन गर्नुपर्ने एमालेको मागमा एकीकृत नेकपा माओवादीले धाप दिएपछि कांग्रेस झन झस्केको हो।

एमालेका शीर्ष नेताहरुले कांग्रेसले नसके आफ्नो पार्टी सरकारको नेतृत्व लिन तयार रहेको चेतावनी दोहो-याइरहेका छन्।