स्पेनकी राजकुमारीसंग अदालतमा सोधपुछ

  • 8 फेब्रुअरी 2014
राजकुमारी क्रिस्टिना तस्वीर कपीराइट GETTY IMAGES
Image caption राजकुमारी क्रिस्टिना अदालतमा बयान दिन जाने स्पेनको राजपरिवारकी पहिलो सदस्य हुन्

मयोर्कास्थित एकजना न्यायाधीशले स्पेनका राजा ह्वाँ कार्लोसकी कान्छी छोरी राजकुमारी क्रिस्टिनासंग जालसाजीका आरोपहरुबारे सोधपुछ गरिरहेका छन्।

राजपरिवारको सदस्य अदालतमा उपस्थित भएको स्पेनको इतिहासमै यो पहिलो पटक हो।

उनीसँग उनका पतिले आफ्नो कारोबारमा सार्वजनिक कोषबाट करोडौं डलर रकम हिनामिना गरेको भन्ने आरोपहरुबारे सोधपुछ गरिएको थियो।

राजकुमारी तथा उनका पति दुबैले आफुहरुले कुनै गलत काम नगरेको बताउँदै आएका छन्।

कडा सुरक्षाका बीच राजकुमारी अदालतको पछाडि तर्फको ढोकाबाट प्रवेश गरेकी थिइन्।

नारा

भवन बाहिर प्रदर्शनकारीहरुले नारा लगाएका थिए।

४८ बर्षीय राजकुमारी क्रिस्टिना आफ्नो मोटरबाट उत्रेर मायोर्का प्रायद्वीपमा रहेको अदालत भवनमा प्रवेश गरेकी थिइन्।

त्यहाँ उनलाई पर्खीरहेका टेलिभिजन पत्रकारहरुलाई उनले कुनै प्रतिकृया दिइनन्।

राजकुमारीसंग एउटा बन्द कक्षमा न्यायाधीशले बयान लिएका थिए।

फौज्दारी अपराधको सिलसिलामा राजपरिवारको कुनै सदस्य अदालतमा उपस्थित भएको स्पेनको इतिहासमै यो पहिलो पटक हो।

राजकुमारी क्रिस्टिनासंग उनका पतिको कारोबारका बारेमा सोधपुछ गरिएको थियो।

आरोप

राजपरिवारका ज्वाईँ इनाकी उर्दाङगारिनमाथि आफ्नो व्यापारिक कारोबारको सिलसिलामा क्षेत्रीय सरकारहरुलाई करोडौं डलर ठगी गरेको आरोप लगाइएको छ।

इनाकी अध्यक्ष रहेको नाफा नकमाउने संस्था ठानिएको नुस नामक एउटा संगठनले क्षेत्रीय सरकारहरुकालागि थुप्रै खेलकुदका कार्यक्रमहरु आयोजना गरेको थियो।

उक्त संस्थाले कार्यक्रममा लागेको खर्च निकै बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाइएको छ।।

उनले क्षेत्रीय सरकारहरुबाट झण्डै छपन्न लाख युरो भुक्तानी लिएको बताइएको छ।

तर राजकुमारी वा उनका पति विरुद्ध औपचारिक अभियोग लगाइएको छैन र उनीहरु दुबैले आफुहरुले कुनै गलत काम नगरेको बताउँदै आएका छन्।

राजकुमारीले उक्त रकममध्ये केही आफ्नो व्यक्तिगत प्रयोजनकालागि खर्च गरेको आशङ्का गरिएको छ।

आफ्नो श्रीमानको कारोबारका बारे उनलाई के थाहा थियो भन्ने प्रश्न पनि उठेको छ।

प्रकरण

म्याड्रिडस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, संसारभरिका सन्चारमाध्यमहरुले भ्रष्टाचारको यो प्रकरणको हरेक विवरणको विश्लेषण गर्नेछन्।

यो विवाद तीन वर्ष अघि शुरु भएको हो र स्पेनका अखबारहरुले हरेक दिनजसो यससंबन्धमा समाचार लेख्‍ने गरेका छन्।

ती आरोपहरु सार्वजनिक भएपछि राजकुमारी क्रिस्टिना र उनका पतिलाई दरबारले आयोजना गरेका कार्यक्रमहरुमा बोलाउने गरिएको छैन।

उनका पतिको नाम राजदरबारको वेबसाइटबाट पनि हटाईएको छ।

लामो समयदेखि जारी यो विवादले स्पेनमा राजसंस्थाप्रतिको जनसमर्थन घटाइदिएको छ।