गार्मेण्ट संचालकद्वारा आत्मसमर्पण

  • 9 फेब्रुअरी 2014
तस्वीर कपीराइट AFP
Image caption बंगलादेशी गार्मेण्ट उद्योगमा कार्यरत कामदारहरुको सुरक्षाबारे पटक पटक प्रश्न उठ्दै आएको छ।

बंगलादेशमा १ सय १२ जनाको ज्यान जाने गरि आगलागी भएको एक गार्मेण्ट उद्योगका दुई जना संचालकले अधिकारीहरुसमक्ष आत्मसमर्पण गरेका छन्।

दिलावर हुस्सैन र उनकी श्रीमतीमाथि गत डिसेम्बरमा ज्यान मारेको आरोप लगाइएको थियो।

ढाका मेजिस्ट्रेट अदालत पुगेका हुस्सैन दम्पतीको जमानत सम्बन्धी निवेदन अदालतले अस्वीकार गरेपछि उनीहरुलाई जेल चलान गरिएको छ।

गत डिसेम्बरमै पक्राउ आदेश जारी गरिए पनि उनीहरु निर्धक्क साथ ढाकामा बस्दै आएका थिए।

कारावास

उनीहरुले आत्मसमर्पण गर्नुको कारण स्पष्ट हुन सकेको छैन्।

आरोप प्रमाणित भए उनीहरुले आजीवन कारावासको सजाय पाउने छन्।

ताज्रिन आगलागी बंगलादेशको गार्मेण्ट उद्योगमा भएको सबैभन्दा ठूलो आगलागीको घट्ना थियो।

उक्त घटनाले त्यहाँका गार्मेण्ट उद्योगहरुमा काम गर्नेहरुको अवस्थाबारे सबैको ध्यान आकृष्ट गरेको थियो।

त्यसको एक महिनापछि राजधानी ढाकाको बाहिरी भेगमा पर्ने राना प्लाजा गार्मेण्ट उद्योगको भवन भत्किदा १ हजार १ सय ३५ जनाको मृत्यु भएको थियो।

हुस्सैन र उनकी श्रीमति महमुदा अक्तरसहित १३ जनामाथि ज्यान मारेको आरोप लगाइएको छ।

आगलागी

एउटा अनुसन्धान प्रतिवेदनअनुसार, आगलागी शुरु हुना साथ खतराको घण्टी बज्दा गार्मेण्ट उद्योगका व्यवस्थापक र सुरक्षाकर्मीहरुले कामदारहरुलाई त्यो नियमित अभ्यास भएको बताएका थिए।

त्यति बेला कामदारहरु त्यहाँबाट निस्किन निकै ढिलो भईसकेको थियो।

नौ तल्ले गार्मेण्ट उद्योगमा आपतकालीन बहिर्गमनको व्यवस्था थिएन भने कामदारहरु निस्किन खोज्दा केही ढोकाहरु बाहिरबाट बन्द गरिएको पाइएको थियो।

आगलागीमा परेका अधिकांश महिलाहरुले मासिक ३७ अमेरिकी डलर पाउँथे।

ताज्रिन गार्मेण्ट उद्योगका उत्पादनहरु वाल मार्ट जस्ता ठूला खुद्रा पसलहरुले बिक्री गर्छन्।

प्रभावशाली गार्मेण्ट उद्योगका संचालकहरुमाथि बंगलादेश सरकारले मुद्दा चलाएको यो पहिलो पटक हो।

चीनपछि बंगलादेशको गार्मेण्ट उद्योग विश्वकै दोस्रो ठूलो हो र त्यसले त्यहाँको अर्थतन्त्रको ठूलो हिस्सा ‍ओगटेको छ।