सिरियामा राहतकार्य प्रभावित

  • 9 फेब्रुअरी 2014
homs तस्वीर कपीराइट
Image caption राहतकर्मीहरुले हिंसाका बाबजुद केही खाना र औषधी भने बांड्न सफल भएको बताएका छन्

द्धन्द्धग्रस्त सिरियाली शहर होम्समा राहतकार्यमा संलग्न राष्ट्रसंघ र रेड क्रिसेन्टका अधिकारीहरु दोहोरो गोली हानाहान तथा मोर्टार आक्रमण भएपछि त्यहां घण्टौ फसेका छन्।

तर पछि उनीहरु सकुशल त्यहांबाट निस्कन सफल भने भएका थिए।

अवरोध

राहत बांड्न गएका अधिकारीहरुको सवारी दोहोरो गोली हानाहान र मोर्टार आक्रमणमा परेको थियो।

त्यसपछि ठूलो संख्यामा रहेका राष्ट्रसंघ र रेड क्रिसेन्टका अधिकारीहरु एउटा सुरक्षित स्थलमा आश्रय लिन वाध्य भएका थिए।

पछि उनीहरु क्षतिग्रस्त आफ्ना सवारीसाधन छाडी सकुशल फर्कन सफल भए। होम्सको विद्रोही नियन्त्रित क्षेत्रमा फसेका ठानिएका २५०० सर्वसाधारणलाई मानवीय सहायता पुर्याउन अवरोध नगर्ने सहमति भएको थियो तर त्यो अब तोडिएको जस्तो देखिन्छ।

यसका लागि सरकार र विद्रोहीपक्षले एक अर्कामाथि दोष लगाएका छन्।

शंका

तस्वीर कपीराइट AFP
Image caption केही समयअघि जिनेभामा भएको शान्ति वार्तामा होम्स शहरमा राहतकार्यलाई अवरोध नगर्ने सहमति भएको थियो

दोहोरो गोली हानाहानका बाबजुद पनि केही खाना तथा औषधी भने पुर्याउन आफूहरु सफल भएको राहतकर्मीहरुले बताएका छन्।

तर त्यहां फसेका सर्वसाधारणको उद्धार गर्ने सहमतिको भविष्यमाथि भने पछिल्लो हिंसाका कारण कालो बादल मडारिएको छ।

उक्त शहरमा अत्यावश्कीय मानवीय सहायता पुर्याउन अवरोध नगर्नेबारे राष्ट्रसंघको मध्यस्थततामा केही समयअघि सिरियाली सरकार र विद्रोहीहरुका प्रतिनिधिबीच जिनेभामा भएको वार्तामा सहमति भएको थियो।

त्यसको कार्यान्वयन स्वरुप तीन दिनयता होम्समा युद्धविराम जस्तो अवस्था थियो।