एक वर्षभित्र संविधान: नवनिर्वाचित प्रधानमन्त्री कोइराला

  • 10 फेब्रुअरी 2014
सुशील कोइराला तस्वीर कपीराइट bbc
Image caption नवनिर्वाचित प्रधानमन्त्री कोइरालाको पहिलो चुनौति मन्त्रिपरिषद विस्तारमै झेल्नुपर्नेछ

नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारले एक वर्षभित्र संविधान बनाउन प्राथमिकता दिने बताएका छन्।

कोइरालाले एकवर्षभित्र संविधान बनाउने, ६ महिनामा स्थानीय निकायको चुनाव गर्ने, आर्थिक विकास गर्ने र महंगी नियन्त्रण गर्ने बताएका थिए।

उनले भने, 'एक वर्षमा संविधान, ६ महिनामा स्थानीय निकायको चुनाव, देशमा आर्थिक विकास गर्न र महंगी नियन्त्रण गर्नमा मेरो नेतृत्वको सरकारको प्राथमिकता रहने छ।'

दोस्रो ठूलो दल नेकपा एमालेले नेपाली कांग्रेसका सभापति कोइरालालाई समर्थन गरेपछि सोमबार भएको निर्वाचनमा ४ सय ५ मत ल्याएर कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

व्यवस्थापिका संसदमा सोमबार भएको निर्वाचनमा उनको विपक्षमा १ सय ४८ मत खसेको थियो।

पूर्वनिर्धारित कार्यक्रमभन्दा एक घन्टा ढिलो अपरान्ह १२ बजेतिर संसदमा निर्वाचन शुरु भएको थियो।

कोइरालाको उम्मेदवारीको काँग्रेस पार्टीका उपसभापति रामचन्द्र पौडेलले प्रस्ताव गरेका थिए भने नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले त्यसको समर्थन गरेका थिए।

त्यसपछि संसदमा भएको मतदानको नतिजा सुनाउँदै ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको जिम्मेवारी सम्हाल्दै आएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले कोइराला प्रधानमन्त्री पदमा निर्वाचित भएको निर्णय सुनाएका थिए।

विस्थापित

योसँगै करिब ११ महिनादेखि सत्ताको बागडोर सम्हाल्दै आएको प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको वर्तमान गैरराजनीतिक सरकार विस्थापित हुने भएको छ।

संसदको दोस्रो ठूलो दल एमालेसँग आईतबार भएको ७ बुँदे सहमतिपछि उसको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका कोइरालाले सहमतिका आधारमा सरकार अघि बढ्ने बताएका छन्।

कोइरालाको विपक्षमा मतदान गरेको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एक वर्षपछि नयाँ प्रधानमन्त्री, संविधानसभाको अध्यक्ष र उपाध्यक्ष तथा राष्ट्रपति एवं उपराष्ट्रपति चयन गर्ने कांग्रेस-एमालेबीच भएको सहमतिप्रति कडा विरोध जनाए।

उनले दुई ठूला दलले संसदीय प्रक्रियालाई उनकै शब्दमा तदर्थवादतर्फ लान खोजेको आरोप लगाए।

कोइरालाको विपक्षमा मतदान गरेको तेस्रो ठूलो दल नेकपा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले निर्वाचनपछि प्रतिक्रिया दिदै आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने दोहोर्याए।

प्रधानमन्त्री निर्वाचनपछि कोइरालालाई स्वागत गर्न संसद प्राङ्गणबाहिर कांग्रेस समर्थक तथा कार्यकर्ताहरुको भीड थियो।

पारिलो घाममा झण्डै दुई घण्टादेखि बाहिर कुरिरहेका कसैकसैको दुबोको माला ओइलाउन लागेको थियो।

कोइराला सरकारबाट जनताका अपेक्षाहरु पनि ती दुबोका माला जस्तै ओइलाउने त होइन भन्ने आशंका धेरैमा रहेको पाइन्छ।