प्रधानमन्त्रीको चुनाव हुंदै

  • 10 फेब्रुअरी 2014
Image caption कांग्रेस र एमालेको समिकरण बनेपछि ७४ बर्षिय सुशील कोइराला प्रधानमन्त्री बन्न लागेका हुन्

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति अनुसार संविधानसभाको चुनाव भएको झन्डै तीन महिनापछि सोमबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ।

कांग्रेस सभापति सुशील कोइराला ०६२/०६३ सालको जनआन्दोलनपछिको सातौं कार्यकारी प्रमुखको रुपमा संसदबाट निर्वाचित हुन लागेका हुन्।

कांग्रेस-एमाले शक्ति बाँडफाँडको जोड घटाउमा व्यस्त रहेका बेला सात बुँदे सहमतिमा संविधानसभाको अध्यक्ष पद एमालेलाई दिने उल्लेख भएकोमा तेस्रो ठूलो दल एकीकृत माओवादी असन्तुष्ट देखिएको छ।

भागबन्डा

संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संसद बैठकमा नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो।

सो बैठकबाट प्रधानमन्त्रीका एक्ला उम्मेद्वार कांग्रेस सभापति एवम् संसदीय दलका नेता सुशील कोइराला निर्वाचित हुने निश्चित छ।

एमाले र कांग्रेसका केही नेताहरु सरकार गठन र शक्ति बाँडफाँडको जोड घटाउमा व्यस्त छन्।

एमाले नेता भरतमोहन अधिकारीले मन्त्रालयहरु दुई दलबीच बराबर भागबन्डा हुनु पर्ने बताए।

“हैसियत लगभग समान रहेकाले दुई दलबीच बराबर मन्त्रालय बाँडफाँड गर्नु बुद्धिमतापूर्ण हुन्छ, गृह मन्त्रालय हामीले पाउनुपर्छ।”

कांग्रेस नेता रामशरण महतले पार्टीको आकारको आधारमा मन्त्रालय बाँडफाँड हुनु पर्ने जिकिर गरे।

“संसदमा उपस्थितिको आधारमा हाम्रो प्रतिनिधित्व मन्त्रिपरिषदमा अलिकति बढी होला, अहिले २६ वटा मन्त्रालय छन्, त्यो घट्न सक्ला, बढदैन्,” उनले भने।

असन्तुष्टि

एमाले र कांग्रेस बीच भएको सहमतिमा संविधानसभाको अध्यक्ष एमालेलाई दिन कांग्रेसले समर्थन गर्ने उल्लेख छ।

एमाओवादी नेता अग्नि सापकोटाले आफ्नो दललाई अध्यक्ष नदिने सहमति गर्नु कांग्रेस र एमालेको अहंकार भएको बताए।

अघिल्लो संविधानसभामा तेस्रो दल बनेको नेकपा एमालेले संविधानसभाको अध्यक्ष पद लिएकाले यस पटक तेस्रो दलको नाताले आफुले उक्त पद पाउनु पर्ने एमाओवादीको तर्क थियो।