कोइरालाको जीवन झाँकी

  • 10 फेब्रुअरी 2014
सुशील कोइराला तस्वीर कपीराइट bbc
Image caption संविधान जारी भई राजनीतिक संक्रमण अन्त्य हुने-नहुने कुरामा सुशीलको कार्यकालको सफलता निर्भर हुनेछ

फिल्मको नायक बन्ने सपना बोकेका किशोरावस्थाका सुशीललाई राजनीतिले कसरी आफ्नो पछिपछि डो-याउँदै जीवनको उत्तरार्द्धमा सिैहदरबारमा आसीन गरायो?

झण्डै ६० वर्ष लामो राजनीतिक अनुभव संगालेका सुशील कोइराला पार्टी कमान सम्हालेको तीन वर्षपछि मुलुकको कार्यकारी प्रमुख बन्न सफल भएका छन्।

सुशील कोइराला समकालीन नेताहरु मध्ये सादा जीवन शैली र स्वच्छ छविका नेताको रुपमा चिनिन्छन्।

फिल्मको हिरो बन्ने सपना साँचेका उसबेलाका किशोरलाई राजनीतिले अचानक आफ्नो पछिपछि डो-याउँदै जीवनको उतरार्द्धमा पुग्दा सिंहदरबारमा आसीन गराइ छाडेको छ।

नशा

१६ वर्षको उमेरमा सुशील २०१२ सालमा भएको पार्टीको महाधिवेशनमा सहभागी भएका थिए।

तर राजा महेन्द्रले २०१७ सालमा दाजु पर्ने वीपी कोइरालाको दुई तिहाई बहुमतको सरकार अपदस्त गरेपछि २१ वर्षको युवा अवस्थामा शुरु भएको भारत निर्वासनसँगै उनलाई राजनीतिको नशाले लठ्ठ्ठयाएको हो।

२० वर्ष लामो भारत निर्वासनका क्रममा उनले त्यहाँ विमान अपहरणमा संलग्न रहेको अभियोगमा तीन वर्ष जेल जीवन बिताए, त्यसबेला उनलाई चर्को यातना दिइएको बताइन्छ।

४० वर्षको हुँदा आम माफी पाई जनमत संग्रहको मुखमा नेपाल फर्केर देशव्यापी संगठनमा लागेपछि केन्द्रिय समितिमा उनको प्रवेश भएको हो।

२०४६ सालको परिवर्तनपछि शक्ति र सत्ताको केन्द्रमा रहेका ठूली आमाका छोरा गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र छँदा आएको मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरी सुशील पार्टी संगठनमै लागि रहे।

तर गिरिजाप्रसाद रहँदासम्म सानो घेराभित्र रही कोठे राजनीति गर्ने नेताको रुपमा उनको खुबै आलोचना हुने गर्थ्यो।

छत्रछायाँ

गिरिजाप्रसादकै कारण उनले पार्टी महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिको जिम्मेवारी पाएको आलोचकहरुको टिप्पणी हुने गर्थ्यो।

२०४६ सालको परिवर्तनपछि लामो समयसम्म कांग्रेसमा ‘आरएसएस’को रुपमा रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवालाई दोश्रो पुस्ताका नेताको रुपमा चिनिन्थ्यो।

उनीहरुलाई ‘एकेजीबी’ अर्थात अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदारहरुले पछ्याउँथे।

उसबेला पार्टीमा गिरिजाप्रसादको उत्तराधिकारीको रुपमा सुशील गणनामा पर्दैनथे।

तर गिरिजाप्रसाद रहँदासम्म उनलाई सघाउनुलाई नै आफ्नो प्राथमिकतामा राखेकाले सुशील उनको छायाँमा परेको विश्लेषण गर्नेहरु पनि छन्।

उनको निधनपछि सुशील चुनावबाटै पार्टी सभापति बन्न सफल पनि भए।

नायक सपना

दाजु गिरिजाप्रसादको नेतृत्वमा छँदा पहिलो संविधानसभामा दोश्रो दलमा झरेको कांग्रेस सुशीलले सम्हालेका बेला पहिलो बनेको छ।

गिरिजाप्रसादले अधुरै छाडेको संविधान लेखन आफूले सरकारको नेतृत्व गरेका बेला पुरा गर्ने अवसर सुशीलले पाएका छन्।

जुन २००७ र २०४६ सालको राजनीतिक परिवर्तन, २०६२-६३ को आन्दोलन एवम् राजतन्त्र अन्त्य गरी गणतन्त्रको घोषणाको अगुवाई गर्ने अवसर पाएको उनको पार्टीका निम्ति मुलुकको अर्को महत्वपूर्ण कालखण्डको नेतृत्व गर्ने अवसर पनि सिद्ध हुनेछ।

२०४७ सालको संविधान लेखनलाई पूर्णता दिने सरकारको नेतृत्व गरेका कृष्णप्रसाद भट्टराई जस्तै सुशील पनि अविवाहित हुन्, क्यान्सर नलाग्दासम्म भट्टराई जस्तै उनी पनि पानका शौखिन थिए।

फिल्मका नायक बन्ने सपना बोकेका किशोर सुशील सामु जीवनको उतर्राद्धमा भट्टराई पछिको सफल प्रधानमन्त्री बन्ने अवसर आएको छ, छोप्न सक्ने नसक्ने उनको परीक्षा शुरु भइसकेको छ।