नेपाली मैदानमा अफ्रिकि वर्चस्व

  • 13 फेब्रुअरी 2014
अफ्रिकि खेलाडी तस्वीर कपीराइट bbc
Image caption महत्वपूर्ण खेलमा निर्णायक भूमिका अफ्रिकि खेलाडीहरुको रहने गरेको बताइन्छ

एक दशक अगाडिदेखि नेपाली फुटबल लिगमा भाग लिन थालेका अफ्रिकी मूलका खेलाडीहरुले अधिकांश खेलको हारजितमा निर्णायक भूमिका खेल्न थालेका छन्।

उनीहरुको प्रदर्शनमा नै क्लबहरु माथी चढ्ने वा घटुवा हुनेसम्म हुने गरेको देखिएको छ।

छायाँ

संकटा क्लबले यसपालीको लिगमा घरेलु फुटबलका महंगा खेलाडी छाडेर विदेशी खेलाडीमा विश्वास गर्यो।

गोलकिपर, रक्षक, मिडफिल्डर र अग्रपंक्तिमा एक, एक जना राम्रा विदेशी खेलाडीलाई महंगो रकम तिरेर भित्र्याएपछि टोली अहिले लिगको दोस्रो स्थानमा रहन सफल भएको छ।

यसपालीको लिगमा भएका प्रमुख खेलको नतिजा हेर्ने हो भने अधिकांश महत्वपूर्ण खेलमा विदेशी खेलाडीले नै गोल गरेका छन्।

संकटा क्लबले पूर्व च्याम्पियन थ्री स्टार क्लब विरुद्ध अफ्रिकी खेलाडीकै गोलमा महत्वपूर्ण जित पाएको थियो भने उनै खेलाडीले सशश्त्र प्रहरी विरुद्ध एक्लैले ४ गोल वर्षाएका थिए।

शुरुका केही खेलहरुमा पराजय भोग्न थालेपछि थ्री स्टारले पनि हतार हतार विदेशी खेलाडी थपेको थियो।

उनीहरुको वर्चस्वका कारण घरेलु खेलाडीहरु छायाँमा परेका छन्।

विदेशीको भर

फ्रेन्ड्स क्लबका प्रशिक्षक मेघराज केसी जारी नेपाली लिगको ९० प्रतिशत खेल विदेशी खेलाडीले धानेको बताउँदै यसलाई नेपाली खेलाडीहरुको कमजोर पक्ष भनी विश्लेषण गर्छन्।

उनले भने, “हाम्रा नाम चलेका पुराना खेलाडीहरुको वास्तविक खेल देखिएका छैनन् भने नयां खेलाडीहरु पनि खासै देखिएका छैनन्। यो अवस्थामा यसपालीको लिग पुरै विदेशीमा भर पर्नु परेको छ।”

लिगको शीर्ष स्थानमा दौडिरहेको क्लब मनाङ मर्स्याङदीका स्ट्राइकर दिपक राईका अनुसार विदेशी खेलाडी हुँदा क्लबका खेलाडीहरुको आत्मविश्वास नै बेग्लै हुन्छ। उनी भन्छन्, “सबैभन्दा ठूलो फाइदा के हुन्छ भने विपक्षी रक्षकहरु विदेशी खेलाडीतिर केन्द्रित हुने गर्छन्र र त्यो मौकाको फाइदा हामीले उठाउँछौं।”

उनको थप भनाई छ, “विपक्षी क्लबको रक्षापंक्ति विदेशी हुँदा पनि हामीलाई त्यही मनोवैज्ञानिक दवाव हुने गर्छ। नेपाली खेलाडीहरु पनि नराम्रा होइनन् तर विदेशीलाई पन्छाउन गाहो हुन्छ की भन्ने मनमा लागि हाल्दो रहेछ।”

भिन्नता

त्यसो त नेपाल आउने अफ्रिकी मूलका खेलाडीहरु अन्य देशमा जाने खेलाडीहरुको तुलनामा औसत क्षमताका मानिन्छन्। तर तिनीहरुको शारिरिक शक्ति, खेल दौरान देखाउने मेहनत र इमान्दारिले नेपाली खेलाडीभन्दा अब्बल देखिने गरेको क्लब अधिकारीहरुको भनाई छ।

मनाङ मर्स्याङदी क्लबका तान्जिनियाली स्ट्राइकर योना इलियासले भने, “हामी भित्री मनदेखि खेल्छौं। अल्छि गर्दैनौं। नेपाली खेलाडीहरु पनि उत्तिकै राम्रा छन्। तर २० मिनेटपछि अधिकांश खेलाडीहरु खेल्न सक्दैनन्। त्यो हामीलाई फाइदा हो।”

तस्वीर कपीराइट bbc
Image caption अफ्रिकि खेलाडीहरु शारिरिक रुपमा बलिया र मेहनती मानिन्छन्

फ्रेन्ड्स क्लबका प्रशिक्षक मेघराज केसीकै अनुसार नेपाली खेलाडीहरु नामले मात्र खेल्न खोज्छन्। अनि आफ्नै नामलाई न्याय गर्ने गरी पनि अभ्यास वा मेहनत गर्दैनन्। भिन्नता यही हो।

संख्या घट्यो

गत वर्ष ५० नाघेका अफ्रिकी खेलाडीहरुको संख्या घटेर यसपाली २९ पुगेको छ। तर उनीहरुको प्रभाव भने घटेको छैन।

गत वर्ष ए डिभिजनमा १६ क्लब थियो। यसपाली घटेर १३ पुगेको छ। त्यसमा तीन विभागिय टोलीले विदेशी खेलाडी लिँदैनन् र रानी पोखरी कर्नर टिम आरसीटीले पनि विदेशी खेलाडी नलिंदा यो वर्ष विदेशी खेलाडीको सँख्या २९ जना मात्र पुगेको छ।

यसपाली देखिनै आयोजक अखिल नेपाल फुटबल संघले एउटा क्लबले वढिमा चार विदेशी राख्न पाउने र तीन जनालाई एकसाथ मैदानमा खेलाउन पाउने नियम बनायो। गत वर्ष ५ खेलाडी दर्ता गर्ने र ४ लाई मैदानमा एकैपटक उतार्न पाउने नियम थियो।

झन्डै १० वर्ष देखि संलग्न हुन थालेको विदेशी खेलाडीहरु नेपाली लिगको एक अंग भइसकेका छन्। विदेशी खेलाडीहरुसंग प्रतिस्पर्धा हुंदा नेपाली खेलाडीको स्तर वृद्धि हुने र प्रतिस्पर्धाको स्तर पनि वढ्ने मान्यता विपरित विदेशी खेलाडीमाथि मात्रै खेल निर्भर हुनु भने चिन्ताको विषय बन्न थालेको छ।