सरकारद्वारा पर्वतारोहण शुल्कमा कटौती

  • 13 फेब्रुअरी 2014
सगरमाथा तस्वीर कपीराइट AFP
Image caption सगरमाथामा ओइरिने पर्वतारोहीहरुको व्यवस्थापन सुधार्नुपर्ने मुद्दा धेरैले उठाएका छन्

सरकारले विदेशी एकल पर्वतारोहीहरुका निम्ति राजस्व शुल्कमा भारी कटौती गरेको छ।

अन्जान पर्वतारोहीहरुले समूह बनाई पर्वत चढ्ने प्रवृत्ति निरुत्साहित गर्नाका निम्ति सगरमाथा सहित नेपालका अन्य पर्वतहरु चढ्न आउने विदेशी एकल पर्वतारोहीहरुका निम्ति आगामी वर्ष देखि लागू हुने गरी सरकारले शुल्क घटाएको छ।

नेपालीहरुका निम्ति नेपाली मुद्रामै कायम गरिएको छुट्टै राजस्वको व्यवस्थाभने लागू गरिएको छ।

विसँगति

नयाँ व्यवस्था अनुसार वसन्त ऋतुमा नियमित मार्गबाट सगरमाथा चढ्न चाहने पर्वतारोहीले आगामी वर्षदेखि २५ हजारको साटो ११ हजार अमेरिकी डलर तिरे पुग्छ।

हाल दुई जनाको समूहले तिर्ने राजस्व करीब ४० हजार डलर छ, जबकि एक्लै चढ्दा प्रत्येकले २५ हजार तिर्नु पर्छ।

यसले गर्दा पैसा जोगाउन नचिनेको व्यक्तिहरुबीच समूह बनाउने चलन चलेको बताइन्छ।

अधिकारीहरुका अनुसार नयाँ व्यवस्थाले अन्जान व्यक्तिहरुको समूह बनाई पर्वतारोहण गर्ने सिलसिलामा रोक ल्याउनेछ।

त्यस्तो सिलसिलाले थुप्रै विसँगति जन्माएको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय पर्वतारोहण महाशाखाका प्रमुख रामप्रसाद सापकोटाले बताए।

“उनीहरुमाझ कुनै टिम स्पीरिटनै हुँदैन। टोली नेताले नियन्त्रण गर्न सक्दैन, अनि केही दुर्घटना भयो भने पनि एक अर्काले वास्ता गर्दैनन्,” सापकोटाले भने।

भीडको खतरा

तर के यसले सगरमाथा जस्ता प्रख्यात शिखरमा पर्वतारोहीहरुको भीड बढ्ने खतरा हुँदैन?

शुल्क घटाउनुपर्ने सुझाव विगतदेखिनै दिँदै आएका नेपाल पर्वतारोहण सँघका पूर्व अध्यक्ष तथा अग्रणी व्यवसायी आङ्ग छिरिङ्ग शेर्पाले भने, "सगरमाथा चढ्न स्वस्थ भएको हुनुपर्ने तथा ६००० मीटर माथिका हिमाल चढिसकेको हुनुपर्ने जस्ता मापदण्डहरुका कारण अनावश्यक भीड बढ्दैन।"

उनको भनाइमा युरोपका प्रख्यात शिखरहरुमा दिनकै अढाई सय मानिस चढ्ने गर्छन् जबकि त्यसको तुलनामा सगरमाथामा वार्षिक ७ सयको हाराहारीमा पुग्नुलाई अन्यथा मान्नु हुँदैन।

“नेपालमा वार्षिक ७/८ लाख पर्यटक आउँदापनि हामीले व्यवस्थापन गर्न सकेका छैनौं। मुख्य कुरा हामीले व्यवस्थापन गर्न जान्नुपर्छ,” शेर्पाले भने।

पर्वतारोहणको राजस्व शुल्क घटाइनुको अर्को कारण चाहिँ छिमेकी भारत तथा पाकिस्तानले लिने थोरै शुल्कपनि रहेको कतिपयको भनाइ छ।